बागलुङ । कोरोना भाइरस (कोभिड–१९) सन्त्रास भईरहेको अवस्थामा यसको नियन्त्रण र रोकथामको तयारीबारे जानकारी लिन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विभिन्न जिल्लाको स्थलगत जानकारी लिएका छन् ।
मुख्यमन्त्री गुरुङ, प्रमुख राजनीतिक सल्लाहकार गोविन्दबहादुर नेपाली र प्रदेश सचिव हरि बस्यालसहितको टोली शुक्रबार तीन जिल्ला बागलुङ, म्याग्दी र पर्वत पुगेका हुन । मुख्यमन्त्री गुरुङको टोलीले पर्वतको आइसोलेसन वार्डको निरीक्षण, धौलागिरि प्रादेशिक अस्पतालमा कोरोना संक्रमितको उपचारबारे जानकारी लिन बागलुङ पुगेका हुन । त्यस अस्पतालमा अहिले दुई जना कोरोना संक्रमितको उपचार भइरहेको छ । मुख्यमन्त्री गुरुङले धौलागिरि अस्पताल व्यवस्थापन समितिका अध्यक्ष, मेडिकल सुपरिटेन्डेन्टलगायतसँग कोरोना संक्रमितको उपचारबारे जानकारी लिएका थिए । ‘उहाँले स्रोत साधनको कमी हुन नदिने भन्दै चिकित्सकलाई आत्मबल उच्च राखेर काम गर्न आग्रह गर्नुभएको छ ।
बिहीबार मात्र मुख्यमन्त्री गुरुङले अस्पतालमा उपचाररत १९ वर्षकी कोरोना संक्रमित युवतीसँग टेलिफोनमा कुराकानी गरेका थिए ।
मुख्यमन्त्री गुरुङले जिल्ला प्रशासन कार्यालय बागलुङमा पुगी प्रमुख जिल्ला अधिकारी नेतृत्वको समितिले कोरोना रोकथामका लागि गरेको तयारीबारे जानकारी लिए । त्यसपछि म्याग्दी गएका मुख्यमन्त्री गुरुङले क्वारेन्टाइनस्थलको निरीक्षण गरेर पोखरा फर्किएका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया