जापानमा कोरोना कहर : समस्या र बच्ने उपाय

@लिला राना मगर,जापान । 

-चीनको बुहान सहरबाट सुरु भएको कोरोना भाइरस (कोभिड १९) ले यतिबेला विश्व नै भयभित र त्रसित बनेको छ । हालसम्म विश्वभर भाइरसबाट संक्रमित हुने र मृत्यु हुनेको संख्या छिनछिनमा बढ्दै गएको छ । अन्य देशहरु जस्तै जापान पनि यो भाइरसबाट अछुतो भने रहन सकेन । जापानको मात्रै हालसम्मको तथ्याङ्क हेर्ने हो भने करिब १३ हजार भन्दा बढी मानिस संक्रमित भएको पुष्टि भएको छ ।

जापानमा हाल करिब १२ करोड ५० लाख बढी जनसंख्या रहेको छ । सबैभन्दा बढी जनसंख्या राजधानी टोकियोमा छ । कोरोना भाइरस संक्रमण बढेसँगै यहाँको जनजीवन निकै प्रभावित भएको छ । यहाँ करिब २८ लाखको हाराहारीमा अन्य मुलुकबाट रोजगारीको सिलसिलामा बिदेशी नागरिक बस्दै आएका छन् । अर्थतन्त्रको हिसाबले शक्तिशाली मानिने जापान यो भाइरस संक्रमणलाई भने रोक्न सकेको छैन । यहाँको जनजीवन दिनप्रतिदिन झनभन्दा झन कठिन बनेको छ । अन्तर्राष्ट्रिय व्यापार ठप्प छ । आन्तरिक तथा बाह्य पर्यटनमा शुन्य छ भन्दा फरक पर्र्दैन । संक्रमितको संख्या ह्वात्तै बढे लगत्तै सुरुमा सात प्रान्तमा मात्र सरकारले संकटकाल घोषणा गरेको थियो । यसले पनि अवस्था सहज हुन नसकेपछि पुनः सबै ४७ प्रान्तमा नै संकटकाल घोषणा गरेको छ ।

सँधै मान्छेको भिडभाड हुने टोकियो सहरका ट्रेनहरू अहिले सुनसान छन् । मान्छेको आवतजावत कम भएका छन् । होटल रेष्टुरेन्ट ठूला उद्योग कलकारखाना बन्द भएका छन् । कामदारको माग घटेपछि बेरोजगार भएर बस्नेको संख्या बढ्दै छ । हालसम्म कम्पनीबाट निकालिएका मजदुरहरु एकहजार बढी दर्ता भएका छन् । यहाँका मानिसको जीवनशैली नेपालको भन्दा फरक छ । दैनिक काम नगर्ने हो भने खान बस्न समेत धौधौ हुने गर्दछ । दैनिक जीवनका अत्यावश्यक वस्तु किन्नको लागि पनि यो कठिन समयमा आफ्नो जीवनलाई हत्केलामा राख्दै काम गर्न विवश छन् र नेपाली पनि यसै गरी विवश छौ ।

कुनै कुनै होटल व्यवसाय लगायतका अन्य कम्पनीहरू पुर्णरुपमा बन्द नहुँदा कम्पनीका स्याईनहरू (कम्पनीको कर्मचारी) लाई दैनिक काम नगइनहुने हुँदा यसमा निकै अप्ठेरो परेको छ । यस्तो अवस्थामा न त कम्पनी छोड्न मिल्ने, न त काम जान सक्ने ! निकै गार्हो परिस्थिति उत्पन्न भएको छ । विशेष गरी विदेशी कर्मचारीहरुलाई यस्तो संकटको घडीमा कम्पनी बन्द गरिदिएर न्युनतम पाउनु पर्ने तलवको केही प्रतिशत मात्र भएपनि तलव उपलब्ध गराएमा केही राहतको महसुस हुने थियो । (यो ओर्किङ भिसा परिवर्तन गरेका कामदारहरुको हकमा)

विद्यार्थी भिसामा रहेका सबै विद्यार्थीहरुले गर्दै आएको अतिरिक्त काम भने लगभग पुरै बन्द जस्तै भइसकेको छ । यसरी काम नपाउदा कसरी खाने ? भन्ने कुराको मुख्य चिन्ताको बिषय बनेको छ । यो अवस्थामा न त देश फर्कन सक्ने स्थिति नै छ, न त यहाँ बस्न सक्ने नै । तापनि जापान सरकारले जापान वासी लगायत विदेशी नागरिक जो आफू बस्दै आएको प्रान्तको वडा कार्यालयमा आफ्नो डिटेल दर्ता गरी बसेका छन् भने ती सबैलाई प्रति ब्यक्ति एक लाखको दरले राहत दिने घोषणा गरेको छ । त्यसले केही राहत महसुस भने पक्कै हुनेछ ।

यसरी दैनिक संक्रमितको संख्या बढ्दै जाने हो भने जापान सरकारले हाल लागु गरेको संकटकाल घोषणाले मात्र पुग्दैन । यहाँ पनि जसरी चीनले आफ्नो देश लकडाउन गरेर देशको जनताले नियम पूर्ण पालना गरेर रोग नियन्त्रण गर्न सफल भयो, जापानमा पनि नयाँ संक्रमित देखिन नरोकिदासम्म लकडाउन गर्नु आवश्यक देखिन्छ ।

कोरोनाको संक्रमण त्यसै रोकिदैन । यो समस्या समाधानको अन्तिम र निर्विकल्प बाटो नै बन्दाबन्दी हो । संक्रमित धेरै भएको स्थानलाई शिलबन्दी गर्ने र संक्रमित नभएको स्थानलाई बन्दाबन्दी गर्नुपर्छ ।

यसमा सरकार र जनताले पूर्णरूपमा कार्यान्वयन गर्नु पर्दछ । हामी बाँच्दै गरे नाँच्दै गरौँला ! बरु दिनमा एक छाक खाऔँ, सबै बचौँ भन्नेतर्फ लाग्नु नै अहिलेको परिस्थितिमा बुद्धिमता हुन्छ ।

000

फेसबुकबाट तपाइको प्रतिक्रिया