बैंक तथा वित्तीय संस्थाका देशभरका शाखाहरु आइतबारदेखि खुल्ने

काठमाडौं । मन्त्रिपरिषद्को यही वैशाख २४ गतेको निर्णयअनुसार आगामी आइतबारदेखि बैंक तथा वित्तीय संस्थाका देशभरका शाखा खुल्ने भएका छन् ।

सरकारले बैंक तथा वित्तीय संस्था,बीमा,धितोपत्र, सरकारी संस्थामार्फत अतिआवश्यक पर्ने कर्मचारीमध्ये एकतिहाइ कर्मचारीबाट आलोपालो गरी सेवा सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा आइतबारदेखि सबै बैंक तथा वित्तीय संस्थाका शाखा स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी सञ्चालनमा ल्याउने तयारी गरिएको हो ।सरकारको निर्णयअनुसार आवश्यकताका आधारमा एकतिहाइ कर्मचारी राखेर शाखा सञ्चालनमा ल्याउन लागिएको हो । नेपाल बैंकर्स सङ्घले सबै बैंकका सम्पूर्ण शाखा खोल्न आग्रह गरेको छ । एक पटकमा शाखा कार्यालयमा पाँच जनाभन्दा बढी सेवाग्राहीलाई प्रवेश नदिने, मास्क, स्यानिटाइजरलगायतका स्वास्थ्य सुरक्षाका सामग्री बैंकका कर्मचारी र सेवाग्राहीका लागिसमेत अनिवार्य गरिएको छ । ‘लकडाउन’को अवधिमा बैंकले आलोपालो सेवा दिँदै आएका थिए ।

सरकारले गत चैत ११ गतेदेखि कोरोनाको सङ्क्रमण बढ्न नदिन ‘लकडाउन’ घोषणा गरेसँगै बैंक तथा वित्तीय संस्था आंशिकरुपमा खुलेका थिए । सरकारको पछिल्लो निर्णयलगत्तै बैंकका शाखा खुल्ने निर्णयले ग्राहकलाई थप राहत पुग्ने विश्वास लिएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया