काठमाडौं । नेपालको रुकुम र देवदहमा अन्तरजातीय विवाहको विषयलाई लिएर दलित युवा र दलित युवती सहित ६ जनाको ज्यान गएको घटनाप्रति संयुक्त राष्ट्र संघअन्तर्गतको मानव अधिकार उच्चायुक्तको कार्यालय (ओएचसीएचआर)ले गम्भीर चासो व्यक्त गरेको छ । ओएचसीएचआर प्रमुख मिशेल ब्याचलेटले शुक्रबार जेनेभाबाट विज्ञप्ति जारी गर्दै दुवै घटनामा शोक व्यक्त गर्दै स्वतन्त्र अनुसन्धान गर्नुपर्ने बताएकी छन् ।
नेपाल सबै प्रकारको जातीय विभेद उन्मूलन सम्मेलनको एक पक्ष राष्ट्र भएको स्मरण गराउँदै मिशेलले नेपालमा छुवाछूतको अन्त्य भएको भनिएपनि दलितहरूले गहिरो भेदभावको सामना गरिरहेका र यसले अन्तरजातीय विवाहसम्बन्धी मुद्दाहरूको बारेमा धेरै चिन्ताहरू पनि उठाएको औंल्याएकी छन् । ‘गत एक साताको बीचमा नेपालमा अन्तरजातीय सम्बन्धका विरोधीहरूले रुकुम पश्चिममा ५ जना र रुपन्देहीको देवदहमा एक दलित किशोरीको हत्या गरेको घटनाको निन्दा र शोक व्यक्त गर्दछु,’ मिशेलले उल्लेख गरेकी छन्, ‘यो दुःखलाग्दो कुरा हो कि २१ औं शताब्दीमा जाति आधारित पूर्वाग्रह हाम्रो संसारमा गहिरो रूपमा व्याप्त छ, र यी युवाहरूप्रति म शोकले भरिएको छु ।
जातीय भेदभाव नेपालमा मात्र नभएर अन्य देशहरूमा पनि व्याप्त रहेको र यसले प्रायः गम्भीर क्षति निम्त्याउने हुँदा दिगो विकास लक्ष्य हासिल गर्न जातीय विभेद अन्त्य हुनुपर्ने मिशेलले उल्लेख गरेकी छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया