पोखरा । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दीका कारण सबै क्षेत्र प्रभावित रहँदा समेत पोखरा रङ्गशालाभित्रको वैकल्पिक फुटबल मैदान निर्माणको काम सम्पन्न भएको छ ।
निर्माणाधीन देशकै सबैभन्दा ठूलो फुटबल रङ्गशालासँगै जोडिएको पश्चिमपट्टी यो अभ्यास मैदान निर्माण गरिएको छ । जारी बन्दाबन्दीका बीचमा निरन्तर काम गरेर मैदान समथर बनाउने, नाला निर्माण र मैदानमा दुबो रोप्ने काम सम्पन्न गरिएको हो । सो मैदानका लागि चालू आर्थिक वर्षमा युवा तथा खेलकूद मन्त्रालयले रु ९० लाख बजेट विनियोजन गरेको थियो । राष्ट्रिय खेलूकद परिषद् सदस्य राजेशकुमार गुरुङले बन्दाबन्दीमै काम सुरु भएको दुई महिनामा सबै काम सकिएको हो । मैदानमा हाल गोलपोष्ट राख्ने काम बाँकी छ । कोरोनाको महामारीमा समेत सुरक्षित तरिकाले सामाजिक दूरी कायम राख्दै ११५ मिटर लम्बाइ तथा ६५ मिटर चौडाइको फुटबल मैदान समथर बनाउने, लेबलिङ र दुबो रोप्ने काम सकिएको गुरुङले जानकारी दिए । मैदान दुई महिनाभित्रमा खेल्न योग्य हुने र स–साना प्रतियोगिता यही मैदानमा खेलाइने योजना छ । सो फुटबल रङ्गशालामा ३ सयदेखि ४ सय जना अट्ने गरी प्यारापिट र चेञ्जिङ रुम,शौचालयलगायतका पूर्वाधार आगामी वर्षमा सुरु गरिने बताइएको छ । पोखरा रङ्गशालाभित्रको मुख्य फुटबल रङ्गशालाको काम भने जारी बन्दाबन्दीका कारणले रोकिएको छ । रु एक अर्ब २८ करोड लागतमा निर्माणाधीन रङ्गशालामा हाल १६ हजार ५ सय दर्शक अट्ने प्यारापिट तयार गरिएको छ भने मैदानको सबै काम सकिएको छ ।
भिआइपी प्यारापिटमा छानो छाउने, चेञ्जिङ रुम, मिडिया सेन्टर, कन्फ्रेन्स हललगायतको काम बन्दाबन्दीले रोकिएको निर्माण कम्पनीका परियोजना प्रबन्धक दीपक बरालले बताए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया