काठमाडौं । कोरोना भाइरस संक्रमण भएका आधारमा कम संक्रमित जिल्लाहरुमा जेठ २५ देखि क्रमशः लकडाउन खुकुलो पार्ने सरकारको तयारी गरेको छ । जेठ महिनाभित्रै खुकुलो पार्ने र असार १ देखि भदौ मसान्तसम्म क्रमशः खुलाउने गरी व्यवसायलाई पाँच भागमा विभाजन गरिने भएको छ ।
उपप्रधानमन्त्री तथा उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेलले शुक्रबार केही मन्त्रीहरुसँग लकडाउनको अहिलेको अवस्था परिवर्तन गर्नेबारे छलफल गरेका छन् । सो छलफलमा असार १ गतेपछि कसरी जनजीवन सामान्य बनाउने भन्नेबारे प्रस्तावित योजनामाथि परामर्श भएको छ । यसअघि नै सरकारले जेठ ३२ गतेसम्म लकडाउनलाई निरन्तरता दिने निर्णय गरिसकेको छ । प्रधानमन्त्रीले आयोजना गरेको विज्ञहरुको छलफलमा लकडाउनको अहिलेको तरिका परिवर्तन गर्न सुझाव आएको थियो । अहिले उत्पादनमूलक उद्योग व्यवसायहरु, बैंक तथा वित्तिय संस्था, सबै प्रकारका कृषि व्यवसायहरु र सबै प्रकारका ढुवानी साधनहरु निर्वाध रुपमा चलिरहेको छ ।

कम्तिमा १ मिटरको भौतिक दूरी राख्ने
सरकारले जेठ २५ गतेदेखि व्यक्ति व्यक्तिबीच कम्तिमा १ मिटरको भौतिक दूरी राख्ने र आवश्यक प्रोटोकल पालना गर्ने गरी उपभोग्य वस्तु बाहेकका अन्य पसलहरु पनि खोल्ने गरी लकडाउनको तरिका बदल्ने गृहकार्य गरेको छ ।
जेठ २५ गतेपछि दैनिक उपभोग्य सामाग्री बाहेक अन्य सामग्री विक्री हुने पसल तथा डिमार्टमेन्ट स्टोरहरु पनि मापदण्ड अनुसार सञ्चालन हुन दिने गरी प्रस्ताव तयार भएको छ । त्यसमा कपाल काट्ने सैलुन, हाल बन्द भएका अस्पताल, प्रयोगशाला र निजी क्लिनिकहरु पनि पर्नेछन् । असार १७ गतेपछि लकडाउन थप खोल्न प्रस्ताव गरिएको छ । त्यसपछि अन्तर्राष्ट्रिय हवाई उडान, कम्तिमा एक मिटरको दूरी कायम गर्ने गरि खुल्ला खेलस्थलहरु पनि खोल्न सिफारिस गरिएको छ । त्यस्तै सबै प्रकारका शिक्षण संस्थाहरु असार १७ पछि ठाउँ हेरेर खोल्न सकिने सिफारिस छ ।
रेष्टुरेन्ट तथा खाजा पसलहरुहरु पनि असार १७ पछि मात्र खोल्न सकिने सिसिएमसीको सिफारिस छ । त्यसो गर्दा एक मिटरको भौतिक दूरी कायम गर्ने र साँझ ७ बजेसम्म मात्र खोल्न दिने भनिएको छ ।
के-के गर्न पाईदैन
उच्चस्तरीय समन्वय समितिका अनुसार सभा समारोह, उत्सव, भोज भतेर जस्ता जमघट भदौ मसान्तसम्म सन्चालन नगर्ने सिफारिस छ । त्यस्तै एकैपटक २५ जनाभन्दा बढी भेला हुने कुनै पनि क्रियाकलाप नगर्ने र सिनेमा हल, नाटक तथा नाचघर र फिटनेस सेन्टरहरु पनि भदौ मसान्त अघि खोल्न नहुने सिफारिस गरिएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया