समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउन जनसम्पर्क समिति जापानको माग

जापान । कोरोना भाइरसको प्रभावबाट सावधानी अपनाउन र जोखिम नियन्त्रण गर्नका लागि नेपाल सरकारले समयमै गम्भीरतापूर्वक आवश्यक कदम चाल्नुपर्ने भन्दै नेपाली जनसम्पर्क समिति जापानले नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको छ । समितिले जापानका लागि नेपाली राजदूत प्रतिभा राणामार्फत नेपालका प्रधानमन्त्री केपी ओलीलाई सम्बोधन गर्दै जापानको टोकियोस्थित नेपाली दूतावासमा ज्ञापनपत्र बुझाएको हो ।

समितिले स्वदेशमा रहेका नेपाली तथा विदेशमा भएका नेपाल फर्कन चाहने नेपालीहरुका लागि कुनै व्यवस्था नभएको, विदेशमा पनि रोजगारी खोसिँदा जीविकोपार्जन गर्न अवस्था नभएको समस्या औंल्याउँदै नेपालीहरुलाई तत्काल स्वदेश फर्काउने वातावरण बनाउन आग्रह गरेको छ । समितिले विदेशमा रहेका नेपाली मजदुर, विद्यार्थीहरुले अनेकौं बाधा अड्चन भोग्नु परेको समस्या उल्लेख गर्दै यस विषयमा नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।

नेपाली जनसम्पर्क समिति जापानका अध्यक्ष रोसन केसी, पुर्व सभापति डा बलराम श्रेष्ठ, निवर्तमान सभापति डिपी कँडेल, कार्यसमिति उपसभापति पिताम्बर चापागाई ,पूर्व सहकोषाध्यक्ष ऋषिराम कडेलको सहभागितामा ज्ञापनपत्र बुझाइएको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया