जापान । जापानको विमान चार्टरबाट नाफा भएको ३० लाख रुपैयाँ सुमेघ टुर्स ट्राभल्सले कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचारका लागि सहयोग प्रदान गरेको छ।
ट्राभल्सले नेपाल सरकारद्वारा स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा २० लाख रुपैयाँ, बागलुङ नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा ४ लाख रुपैयाँ, गलकोट नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा ४ लाख रुपैयाँ र ताराखोला गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा २ लाख रुपैयाँ गरी ३० लाख रुपैयाँ प्रदान गरेको हो।
आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्दै सहयोग रकम हस्तान्त्रण गरेको कम्पनीका प्रमुख मेघ केसीद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ। नेपालमा चैत ११ गतेदेखि बन्दाबन्दी घोषणा गरेपछि कम्पनीले जापानका लागि तीन वटा चार्टर्ड उडान समेत गरेको थियो। काठमाडौंबाट जापानको नारिता विमानस्थलमा गरिएको उडानबाट कम्पनीले ७६६ जना यात्रुलाई आफ्नो गन्तव्यमा पुर्याएको थियो। नेपाल आएका जापानी नागरिक, जापानमा कार्यरत तथा अध्ययन गरिरहेका नेपाली तर नेपाल आएर भिषा सकिन लागेकालाई चार्टर्ड उडानबाट गन्तव्यमा पुर्याइएको कम्पनीले जारी गरेको प्रेस विज्ञप्तीमा जानकारी दिएको छ।
चार्टर्ड उडानबाट जापान जानका लागि अनुमति दिने नेपाल सरकारको कोरोना भाइरस रोकथाम नियन्त्रण उच्चस्तरीय समन्वय समिति, संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय तथा नेपाल सरकारका विभिन्न निकायलाई कम्पनीले धन्यवाद ज्ञापन गरेको छ।
त्यसैगरी कम्पनीले नेपाल स्थित जापानी दूतावास, गैरआवासीय नेपाली संघ जापान, नेपाल वायु सेवा निगमलाई धन्यवाद ज्ञापन गरेको छ।

फेसबुकबाट तपाइको प्रतिक्रिया