जापान । टोकियो महानगरको गभर्नरको निर्वाचनमा हालकी गर्भनर युरिको कोइके पुनः निर्वाचित हुने एक सर्वेक्षणले देखाएको छ ।
जुलाई ५ मा अर्थात ६ दिनपछि हुने गर्भरनको निर्वाचनको पूर्वसन्ध्यामा गरिएको एक सर्वेक्षणका अनुसार गभर्नर कोइके सम्मानजनक मतले अगड़ी रहेको देखाएको छ । क्योदोन्यूजले गत शुक्रवारबाट ३ दिनसम्म गरेको फोन सर्वेक्षणका आधारमा गभर्नरको दौडमा कोइके अगाडि रहेको सर्वेक्षण देखाएको समाचारमा जनाएको छ । उनका प्रतिस्पर्धीहरुमा विपक्षीदलका ६७ वर्षिय केञ्जी उत्सुनोमिया,४५ वर्षिय तारो यामामोतो, पूर्वअभिनेता रेइवा शिन्सेनगुमी लगायत करीव २० जना जति मैदानमा छन् । कोइकेलाई सत्तारुढ पार्टी एलडीपीबाट र गठबन्धन पार्टी कोमेइतोबाट समर्थन रहेको बताईएको छ । समाचारका अनुसार महानगरिय क्षेत्र राजधानी टोकियोका मतदाताहरुलाई फोन सम्पर्क गरी उनीहरुको आधिकारिक धारणा संकलन गरेको थियो भने कतिपय स्थानमा सार्बजनिक भेलाको आयोजना गरी मतदाताहरुको राय संकलन गरेको थियो । सर्वेक्षणका क्रममा ३० प्रतिशत मतदाताले कसलाई भोट दिने भन्ने अझै निश्कर्षमा नपुगेको बताएका थिए । उनीहरुले अन्तिम समयसम्म उम्मेदवारहरुको चुनावी प्रचार हेरेर निर्णय लिने बताएका छन ।
सर्वेक्षणका अनुसार कोइकेकी प्रमुख प्रतिस्पर्धी मानिएका प्रतिपक्षी दल डिपीजेका उम्मेदवार उत्सुनोमियाले जम्मा २० प्रतिशत मत प्राप्त गरेका छन् । सर्वेक्षणमा २५ दशमलव २ प्रतिशत मतदाताहरुले नेतृत्व छनौटको आधार ’नीति’ हुने बताए भने २१ दशमलव ३ प्रतिशत मतदाताले ’नेतृत्व क्षमता’ लाई छनौटको आधार हुने बताएका छन् भने १४ दशमलव ६ प्रतिशत मतदाताले कोरोना भाइरस नियन्त्रण क्षमतालाई छनौटको आधार बनाईने बताए । गभर्नर कोइकेको विगत ४ वर्षको कार्यकाललाई २२ दशमलव ८ प्रतिशत मतदाताले ’राम्रो गरेको’ प्रतिक्रिया दिएका छन् भने ५७ दशमलव ८ प्रतिशतले ’केही हदसम्म राम्रो गरेको’ बताएका छन् ।सर्वेक्षणका क्रममा पूर्व रक्षामन्त्री र पूर्व वातावरण मन्त्रीको समेत जिम्मेवारी सम्हालीसकेकी गभर्नर कोइकेले कोरोना महामारीको सुरुवाती चरणदेखिनै राजधानी टोकियोबासीलाई घरभित्रै बस्न बारम्बार गरेको आह्वान् र महामारीका कारण उत्पन्न ब्यवसायिक मन्दीलाई सम्बोधन गर्न आर्थिक सहयोग उपलब्ध गराएकोमा प्रशंसा गरिएको छ ।
क्योदोन्यूजले गत शुक्रबारदेखि हिजो आइतबारसम्म जम्मा १ हजार ४ सय ५७ घरधुरीलाई फोन सम्पर्क गरेकोमा १ हजार ३० अर्थात ७० दशमलव ७ प्रतिशत घरपरिवारले मात्र सर्वेक्षणमा भाग लिन राजी भएका थिए ।
जुलाई ५ का दिन टोकियो महानगरको गभर्नरका लागि तोकिएको मतदानकेन्द्रमा गई बिहान ७ बजेदेखि साँझ ८ बजेसम्म मत खसाल्न पाउनेछन् भने अशक्त, असहायहरुले आफ्नो मत हुलाकबाट समेत पठाउन सक्नेछन् तर त्यसका लागि भने स्पष्ट कारण खुलाई अग्रिम प्रक्रिया पूरा गर्नुपर्ने प्रावधान छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया