अमेरिकामा डेमोक्र्याटिक पार्टीको चारदिने अधिवेशन शुरु

एटलान्टा । संयुक्तराज्य अमेरिकाको डेमोक्र्याटिक पार्टीको चारदिने अधिवेशन शुरु भएको छ ।

कोरोनाभाइरस महामारीबीच शुरु भएको यस अधिवेशनका सबै प्रमुख वक्ताले भर्चुअल सम्बोधन गर्नेछन्। यस अधिवेशनले डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपति पदका उम्मेदवार जो बाइडेनलाई औपचारिक उम्मेदवार बनाउनेछ । बाइडेनले सम्मेलनको अन्तिम दिन आगामी बिहीबार आफ्नो गृहराज्य डेलावेयरबाट भर्चुअल सम्बोधन गर्नेछन् ।

विगतमा प्राइमरी चुनावबाट विजयी प्रतिनिधिहरु, पार्टी समर्थक र पार्टीका विशिष्ट व्यक्तिको बाक्लो उपस्थितिबीच निकै तडकभडकका साथ हुने अधिवेशन यसपटक खल्लो छ । मिल्वाकीको सिटी सेन्टरलाई अधिवेशन स्थल तोकिए पनि त्यहाँ कोही पनि उपस्थित छैनन् ।

सम्मेलनको तेस्रो दिन अर्थात् बुधबार सम्मेलनले कमला ह्यारिसलाई उपराष्ट्रपति पदका लागि औपचारिक मनोनयन गर्नेछ । यस अधिवेशनमा नेताहरुले पार्टीका नीतिहरुमाथि बहस चलाउनेभन्दा राष्ट्रपति ट्रम्पका नीतिहरुको आलोचना गर्ने सम्भावना बढी छ ।

अधिवेशनमा राष्ट्रपतिका उम्मेदवार जो बाइडेन, उहाँले उपराष्ट्रपतिमा मनोनयन गरेकी कमला ह्यारिस, डेमोक्र्याटिक पार्टीका तर्फबाट विगतमा राष्ट्रपति भएका बाराक ओबामा र उनकी पत्नी मिसेल ओबामा, पूर्व राष्ट्रपति बिल क्लिन्टन र हिलारी क्लिन्टन, राष्ट्रपतिको उम्मेदवार होडमा रहेका बर्नी स्यान्डर्स समेतका विशिष्ट व्यक्तिले सम्बोधन गर्नेछन्।

सम्मेलन आयोजकका अनुसार बुधबार पूर्वराष्ट्रपति बाराक ओबामा, पूर्व विदेशमन्त्री हिलारी क्लिन्टन, सिनेटर एलिजाबेथ वारेनले सम्बोधन गर्नुहुनेछ भने त्यसअघि मंगलबार पूर्वराष्ट्रपति बिल क्लिन्टन र कंग्रेस सदस्य अलेक्जान्ड्रिया ओकासियो–कोर्टेजले सम्बोधन गर्दैछन् ।

अधिवेशनमा रेकर्डेड तर भावुक मुद्रामा सम्बोधन गर्दै पूर्व राष्ट्रपति बाराक ओबामाकी पत्नी मिसेल ओबामाले राष्ट्रपति ओबामाको कार्यशैली अमेरिकी जनता र अमेरिकाका लागि घातक रहेको आरोप लगाएका छन् । मिसेलले डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार बन्नुभएका जो बाइडेन निकै भलादमी र योग्य रहेका बताए । उनले जो बाइडेनले मुलुकको अर्थतन्त्रलाई पुनरुत्थान गर्ने, कोरोना महामारीलाई परास्त गर्ने तथा आफ्नो मुलुकलाई सही नेतृत्व दिनसक्ने बताए।

राष्ट्रपति ट्रम्पका नीतिमाथि कडा शब्दमा आलोचना गरेकी मिसेलले भनिन् “देशभित्रका जल्दाबल्दा विषयमा मुलुकको सर्वोच्च निकायका प्रमुख ट्रम्पले सहानुभूति राख्नुपर्नेमा उल्टै अराजकता, विभाजन र घृणा फैलाएर अस्थिरता निम्त्याउनु भएको छ ।”

मिसेल ओबामाले रिपब्लीकन समर्थक र प्रगतिशील पक्षधरलाई जो बाइडेनको पक्षमा मत दिन अनुरोध गर्नु भएन, किनभने यी दुई काम रिपब्लीकन सिनेटर जोन कासिच र बर्नी स्यान्डर्सले
गर्नेछन् । जोन कासिचले रेकर्ड गराएको भिडियो सम्बोधनमा यसपटक जो बाइडेनलाई जिताउन आग्रह गरिएको छ । उनले सन् २०१६ को प्राइमरी चुनावमा ट्रम्पसँगै राष्ट्रपतिको उम्मेदवारीका लागि रिपब्लीकन पार्टीभित्र संघर्ष गरेका थिए।

यसैबीच, बिबिसीसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले रिपब्लीकन पार्टीका जोन कासिचको भनाईप्रति असन्तोष प्रकट गरेका छन् । रिपब्लीकन पार्टीले पनि राष्ट्रपति डोनाल्ड ट्रम्पलाई राष्ट्रपति पदका लागि पुनः औपचारिक मनोनयन गर्न अर्को साता अधिवेशन गर्दैछ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया