नेपाली खेलाडी सन्दीप लामिछानेले आफ्नो सातौँ खेलमा विकेट लिए पनि उनको टोली जमैका तलावाज पराजित भएको छ ।
शनिबार राति भएको खेलमा जमैका ट्रिन्बागो नाइट राइडर्ससित १९ रनले पराजित भएको हो । उक्त खेलमा सन्दीपले एक विकेट लिए। उनले चार ओभरमा २० रन खर्चिए । योसँगै सन्दीपले सीपीएलमा सात खेलमा १० विकेट लिएका छन् ।
क्यारेबियन प्रिमियर लिग सीपीएल अन्तर्गत सातौँ खेलमा ट्रिन्बागो १९ रनले विजयी भयो । हालसम्म अपराजित रहेको ट्रिन्बागो प्रतियोगिताको शीर्ष स्थानमा रहेको छ । जमैका भने सात खेलमा तीनमा जित तथा चारमा हारका साथ छ अङ्कसहित तालिकाको चौथो स्थानमा छ ।
शुरुआतमा ब्याटिङ गर्दै ट्रिन्बागोले चार विकेटको क्षतिमा १८४ रन बनायो । एक सय ८५ रनको विजयी लक्ष्य पछ्याउने क्रममा जमैकाले निर्धारित २० ओभरमा छ विकेटको क्षतिमा १६५ रन बनायो । ट्रिन्बागोका लागि कोलिन मुरनोले सर्वाधिक ६५ रन बनाए। यस्तै लेन्ड सिमोन्सले २५ तथा सुनील नारिनले २९ रन जोडे। बलिङतर्फ जमैकाका कार्लोस बाथवेटले दुई तथा सन्दीप लामिछाने र फिडेल इडवार्डले एक एक विकेट लिए। सन्दीपले लेन्स सिमोन्सको विकेट लिएका थिए ।
जमैकालाई जिताउन आन्द्रे रसेलले अन्तिम समयसम्म सङ्घर्ष गरे। उनले अविजित अर्धशतकीय पारी खेले। रसेलले २३ बलमा चार छक्का र पाँच चौकाको मद्दतमा ५० रन बनाए। यस्तै ग्लेन फिलिप्सले ३१ बलमा ४१ रन बनाए। कार्लोस बाथवेटले अविजित २१ रन जोेडे पनि जमैकालाई जिताउन भने सकेनन्।
बलिङतर्फ ट्रिन्बागोका लागि फवाद अहमदले दुई तथा अकिल हुसैन, खइरे पिइरे, सुनिल नारिन र ब्रेभोले एक एक विकेट लिए। अब सन्दीप सम्मिलित जमैका तलावाजले आठौँ खेल बुधबार खेल्नेछ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया