कोरोना कहर : घातक हुँदै लापरबाही

✍️पुष्पा महरा-काठमाडौं उपत्यका अहिले करिव करिव सुनसान छ । ट्राफिक प्रहरी चोक–चोकमा खटिएका छन्,सडकमा प्रेस पास भएका सवारी र केही सरकारी गाडीहरु मात्रै गुडेका छन् ।
त्यसमा पनि चोक चोकमा सवारी जाँच हुन्छ,त्यसले गर्दा पनि अन्य नीजि सवारी साधनहरु संचालनमा छैनन् । काठमाडौं उपत्यका छिर्ने नाकामा पनि यस्तै कडाई गरिएको छ । लाग्छ यस्तै कडाई अलि पहिलेदेखि नै गरिएको भए आज काठमाडौं उपत्यकामा दैनिक तीन सय बढी कोरोना संक्रमित फेला पर्ने थिएनन् होला । बजार बन्द छन्, सडकमा विहान मानिसहरुको अत्याधिक भीड छ ।
कोभिड–१९ को महामारीलाई रोक्न सरकारले चैत ११ गतेबाट लकडाउन सुरु गरी साउन ६ सम्म लम्बायो । जनजीवन अस्तव्यस्त भयो । त्यसको सही व्यवस्थापन गर्न सरकार चुकेको विभिन्न घटनाक्रमहरुले देखाएका छन् । लकडाउनका कारण मानिसहरु दिनरात हिँडेर १०, १२ दिनमा आफ्नो घर पुगेका समाचारहरु पनि बाहिरिए । यस्तैमा जनता रोगले भन्दा नि भोकले पर्ने दिन आउने भन्दै उद्योगी व्यवसायीहरुले सरकारलाईं लकडाउनको अन्त्य गर्न दवाव दिन थाले, अन्ततः साउन ६ गतेबाट लकडाउन अन्त्य भयो ।

लकडाउनको अन्त्यसँगै सडकमा मानिसहरुको जमघट बढ्न थाल्यो, झण्डै चार महिना लकडाउनले घरमा थुनिएका सर्वसाधारणहरु सडकमा देखिन थाले । प्राइभेट गाडी संचालन, जोर विजोर प्रणाली लागु हुँदै सार्वजनिक सवारी साधनलाई पनि संचालनमा ल्याइयो । संक्रमित बढ्दै गए, स्थिती भयावह हुने भएपछि भीड कम गर्न सवारीमा जोरविजोर लागु गरियो । बीचमा स्थानीय तहले ‘सट डाउन’को धारणा ल्यायो । आम रुपमा असर नपर्ने गरी अति प्रभावित क्षेत्रलाई मात्रै शिल गर्ने त्यहाँ आवगमन नै बन्द गर्ने काम भयो । तर स्थानीय तहको त्यो प्रयासले खासै सफलता पाउन सकेन । किनभने कोरोना संक्रमित यति छिटो बढ्दै थियो कि, त्यसलाई नियन्त्रण तथा न्यूनिकरण गर्न पुनः लकडाउनको घोषणा गर्नुको विकल्प थिएन ।
सरकारले चैत ११ गते लकडाउन घोषणा गर्दा नेपालमा दुई जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । साउन ६ गतेसम्म आइपुग्दा कोरोना संक्रमित १७ हजार नाघेका थिए, भने मृतकको संख्या ४० पुगिसकेको थियो । कोरोना संक्रमित १८ हजार कटेपछि ‘सट डाउन’ हुँदै निषेधाज्ञा जारी भयो । काठमाडौं ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसहित विभिन्न क्षेत्रका विज्ञ, जनप्रतिनिधि तथा सरोकारवाला निकायसँग छलफल गरी त्यसको आधारमा उपत्यकाको तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको भदौ २ गते गरेको निर्णय गरी ४ गते बिहान १२ बजेबाट एक हप्ताका लागि निषेधाज्ञा आदेश भयो । उपत्यका तीनै जिल्लाका लागि जारी भएको निषेध भदौ १० पुनः वैठक बसी भदौ १७ गते राति १२ सम्म लम्बाइयो । यो अवधिमा सडक सुनसान भए । उपत्यकामा सञ्चालित अत्यावश्य खाद्य सामग्री पसल, तरकारी, दुग्धजन्य पसलहरु विहान ९ः१५ सम्म संचालन गर्न पाइने, अन्यलाई बन्द गरियो । त्यसपछि भने पसल बन्द गर्न आह्वान गर्दै नगर प्रहरीहरु गाडीमा माइकिङ गर्दै हिँडिरहेका हुन्छन् । पसल नखोल्न आग्रह गरिरहेका हुन्छन् । नियमलाई पालना नगरी पसल सञ्चालनमा ल्याएमा कारवाही गरिने चेतावनी समेत दिँदै हिँडेका भेटिन्छन् ।

‘लकडाउन’को समयमा होस या ‘सट डाउन’, या निषेधको समयमा होस्, सरकारले कोरोना नियन्त्रण गर्नुपर्छ भनेर जनतामाथि एकतर्फी प्रेसर थोपरेको गुनासो जहाँतही सुन्न पाइन्छ । पहिला हतारमा गरेको लकडाउन वेमतलम भएको भन्दै सो अवधिमा सरकारले जति काम गर्नुपर्ने हो कोरोना नियन्त्रणका लागि त्यसमा सरकार सिधै असफल बनेको गुनासो छ । सर्वसाधारणको चेकजाँच र सुरक्षित क्वारेन्टिन जुन सरकारले गर्न सकेन । अहिले त झन् कोरोनाले ताण्डव देखाइरहेका बेला सरकार निरिह बनेर हेरिहेको छ । निषेध गरेर कति दिन चल्न सक्छ ? भन्ने प्रश्नहरु पनि जनमानसबाट आउन थालेका छन् ।

जहाँबाट कोरोनाको सुरुवात भएको हाम्रो छिमेकी मुलुक चीनमा अहिले विद्यार्थी पढ्न स्कुल जान थालिसके । सन् २०१९ को अन्त्य तिरबाट सुरु भएको कोरोना भाइरस सन् २०२० को अगष्ट महिनासम्म आउँदा यसले विश्वलाई नै आक्रान्त पारिसकेको छ सेप्टेम्बरसम्म नेपालमा यसले ताण्डव देखाइरहेको छ । यस्तो स्थितिमा चीनले भने कोरोना भाइरसलाई नियन्त्रणमा ल्याउन सफल भएको दावी गर्दै आएको छ । तर, नेपालमा भने सब कोरोना भाइरस नियन्त्रणका लागि सरकारले सघन रुपमा प्रयास गरिरहेको भने पनि ६ महिनासम्म सकारात्मक परिणाम देखिएको छैन । बरु परिस्थिति झन् जटिलतातर्फ गएको प्रष्ट देखिन्छ । यसअवधिमा पनि अपारदर्शी रुपमा गतिविधि भएका र सो सम्बन्धी सामग्रीहरुको खरितमा अनियमितता भएको भन्दै सरकारको व्यापक आलोचना भइरकेको छ ।
कोरोना भाइरस र सरकारको अलोकप्रियता दुवै एकैसाथ बढीरहेको बेला आम जनतामा असन्तुष्टि बढीरहेको देखिन्छ । उच्च तहका व्यक्तिहरुले आफूले काम गरिरहेको दावी गरे पनि त्यसको परिणाम देखिएको छैन । फलस्वरुप जनतामा निरासा छाउँदै गएको छ ।

अझ प्रधानमन्त्रीले कोरोना भाइरबाट बँच्न बेसार पानी खानु भनेको प्रसँग उठाएर व्यापक टिकाटिप्पणीहरु पनि भएका छन् । यद्यपी विज्ञहरुले प्रधानमन्त्रकिो उक्त कुा पूर्णत गलत नभएको भन्दै बेसार पानीमा हुने औषधीय गुणलाई कम नआँक्न सुझाएका छन् ।

कोरोना भाइरसबाट संक्रमित सर्वसाधारण मात्र छैनन् उच्च तहका व्यक्तिहरु पनि छन् । काठमाडौं उपत्यकाका मेयर विद्या सुन्दर शाक्यलाई कोरोना पोजेटिभ देखिएको छ, अहिले उनी आइसोलेसनमा छन् । त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त पनि कोरोना भाइरसबाट संक्रमित भएका थिए । त्यस्तै डाक्टर भोला रिजाल दम्पत्तिलाई पनि कोरोना पोजेटिभ देखिएको छ । उनीहरु पनि अहिले आइसोलेसनमा छन् भने उहीहरुको अवस्था सामान्य रहेको विभिन्न सञ्चारमाध्यमहरुमा कुरा आइसकेका छन् । बाग्मती प्रदेश उपसभामुखदेखि केही नेताहरुले पनि कोरोनालाई जितेको समाचार सार्वजनिक भइसकेको छ । अग्रणी स्थानमा रहेर काम गर्ने नेपाल प्रहरीदेखि राज्यको चौथो अंग पत्रकारसमेत यसबाट अछुतो बन्न सकेका छैनन् । विपद्को समयमा पनि क्रियाशिल हुनुपर्ने यस्ता पेशामा आवद्धहरु संक्रमणको अझ बढी जोखिममा हुन्छन् ।

यसअघिको लकडाउनको समयमा कोरोना भाइरसले भन्दा पनि मानिसहरुमा त्यसको आतंकको पीडा बढी थियो । तर अहिले मानिसहरुले कोरोना आतंकलाई विस्तारै–विस्तारै जित्दै आएका छन् । यहाँसम्म कि मानिसहरु विश्व स्वास्थ्य संगठनले पालना गर्नु भनि दिएको निर्देशनलाई पनि वेवास्ता गर्दैछन् । ‘मास्क लगाएर मात्रै बाहिर निस्कनु, बाहिरबाट घर पस्दा सेनिटाइजर प्रयोग गर्नु, साबुन पानीले बेला बेलामा हात धुनु, भीडभाडमा नजानु’ भन्ने नियमलाई सर्वसाधारणहरुले वेवास्ता गरिरहेका छन् । त्यसैले पनि अहिले कोरोना आतंकलाई जितेपनि कोरोनालाई जित्न सकेका छैनन् ।
मंगलबारसम्म नेपालमा ४० हजार ५२९ कोरोना संक्रमित पुगेको र २२९ जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले प्रेस व्रिफिङमा जानकारी दिएका छन् । विश्वको अनुपातमा हेर्ने हो भने कोरोनाले नेपालमा पारेको प्रभाव कमै देखिए पनि हाम्रो सतर्कता अझै बढी भएको भए स्थिति अझ सहज हुनेमा दुईमत छैन । त्यस्तै विश्वको तथ्यांक हेर्ने हो भने हालसम्म ८ लाख बढीको मृत्यु भइसकेको छ । कोरोनाले क्षति पु¥याउने मुलुकहरुमा पहिलो स्थानमा अमेरिका पर्छ, दोस्रोमा ब्राजिल र तेस्रोमा छिमेकी मुलुक भारत ।
भारतसँगको खुला सीमानाका कारण पनि नेपालमा कोरोना भाइरसको संक्रमण तीव्र देखिएको हो । अझै पनि हामीसँग समय छ, आफूलाई सुरक्षित राख्न नसके अब पालो तपाइको पनि हुन सक्छ । यसबारे सचेत हुन जरुरी छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया