सुडानमा वर्षा र बाढीका कारण ९९ व्यक्तिको मृत्यु भएपछि तीन महिनाको लागि सङ्कटकालको घोषणा गएिको छ ।
सुडानी गृहमन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै सुडानमा प्राकृतिक प्रकोपका कारण ९९ नागरिकको मृत्यु भएको र अन्य कैयौँ वेपत्ता बनेको अवस्थामा तीन महिनाको लागि देशव्यापी सङ्कटकाल घोषणा गरिएको जनाएको छ ।
एक महिनाभन्दा बढी निरन्तर रूपमा भारी वर्षाका कारण आएको बाढीले दर्जनौँ व्यक्तिको मृत्यु भएको र बाढी, डुवान तथा पहिरोका कारण सयौँ घाइते भएका मन्त्रालयले जानकारी गराएको छ ।
बाढीका कारण एक लाखभन्दा बढी घर तथा टहरामा क्षति पुगेको उक्त बाढी एक दशक यताकै सबैभन्दा विनाशकारी प्राकृतिक प्रकोप भएको जनाईएको छ । देशको पश्चिमी क्षेत्रमा रहेको डाफर र दक्षिणी सेनार राज्य सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमध्येका हुन् ।
सामान्यतया जूनदेखि अक्टुबरसम्म सुडानमा भारी वर्षा हुन्छ जसका कारण देशभरि ठूलो बाढी आउने गर्छ ।ब्लु नाइल क्षेत्रमा एक शताब्दी यताकै उच्च वर्षा भएको र यसका कारण नदी किनारमा रहेका हजारौँ मानिस विस्थापित बनेका सिंचाइ तथा खानेपानी मन्त्रालयले उल्लेख गरेको छ ।
सुडानमा मानवीय मामिलाको समन्वयका लागि संयुक्त राष्ट्र संघको सार्वजनिक रिपोर्ट अनुसार यो बर्ष सुडानमा बाढीका कारण तीन लाख ८० हजारभन्दा बढी मानिस ‘प्रभावित’ भइसकेका उल्लेख गरिएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया