काठमाडौं । नेपाल-भारत पहिलो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन सञ्चालनको एक वर्ष पुरा भएको छ । भारतको मोतीहारी देखि नेपालको अमलेखगन्जसम्म ६९.२ किलोमिटर लामो पाइपलाइनबाट एक वर्षमा ५३ करोड ४१ लाख लिटर डिजेल आयात भएको निगमले जनाएको छ ।
उक्त परिणामको डिजेल आयात गर्दा यस अघि हुने ढुवानी तथा तापक्रम नोक्सानीबापतको झण्डै एक अर्ब रुपैयाँ जोगिएको नेपाल आयल निगमले जनाएको छ । प्रतिघन्टा २ लाख लिटर डिजेल आयात गर्न सकिने पाइपलाइनको नेपाल र भारतका प्रधानमन्त्रीले गत वर्ष भदौ २४ गते संयुक्त भर्चुअल उद्घाटन गरेका थिए
एक वर्षमा दुई लाख ६७ हजार ट्यांकर बराबरको डिजेल पाइपलाइनमार्फत भित्रिएको निगमको अमलेखगन्ज डिपोले जनाएको छ । एक वर्षमा ५३ करोड ४१ लाख लिटर डिजेल आयात भएको डिपो प्रमुख इन्जिनियर भरत रेग्मीले बताए ।
भारतको बरौनीदेखि नेपालको अमलेखगन्जसम्म प्रतिलिटर ट्यांकर ढुवानीमा प्रतिलिटर एक रुपैयाँ ५० पैसा खर्च हुने गरेकोमा पाइपलाइनपछि सो खर्च जोगिएको निगमको केन्द्रीय कार्यालयले जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया