रसायनिक मलको समस्याको दीर्घकालीन समाधान खोज्न संसदीय समितिको निर्देशन

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले कृषकहरुलाई समयमै मल उपलब्ध गराउन आवश्यक व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । शुक्रबार बसेको समितिको बैठकले मल अभावका बिषयमा कृषिमन्त्री घनश्याम भूषालसँग छलफल गर्दै कृषकहरुलाई समयमा नै मल उपलव्ध गराउन निर्देशन दिएको हो ।

समितिले मलको समस्या समाधानका लागि मन्त्रालयले बनाएका अल्पकालिन र दीर्घकालिन योजनाहरु छिटो भन्दा छिटो समितिलाई उपलब्ध गराउन पनि निर्देशन दिएको छ । त्यस्तै बैठकले चालु आर्थिक वर्षमा रसायनिक मल आयात गरिएको मलको परिणाम र वितरणको तयारीका विषयमा विस्तृत विवरण ७ दिनभित्र समितिमा पेश गर्न पनि निर्देशन दिइएको कृषि समिति सभापति पूर्ण कुमारी सुवेदीले जानकारी दिइन् ।

बैठकले मलमा दिएको अनुदानलाई पुनरावलोकन गरी सबै किसाहरुलाई रासायनिक मल अनुदानमा दिन तथा तराई र मध्य पहाडी जिल्लामा गोदाम घरको व्यवस्था गर्न पनि निर्देशन दिईएको उनले जानकारी दिइन् । बैठकमा कृषिमन्त्री घनश्याम भूषालले अहिले आवश्यकताका आधारमा किसानहरुलाई मल बितरण भइरहेको जानकारी दिए ।

मलको कालाबजारी गर्नेलाई सरकारले कारवाही गरेको उनले बताए । नेपालमा रहेको मलले हालको अभावलाई पूर्ति गर्न नसक्ने भएकाले बंगलादेशबाट मल मगाइएको उनको भनाई छ । बैठकमा समिति सदस्यहरुले हरेक बर्ष कृषकहरुलाई मलको अभाव भएपनि सरकारले पूर्वतयारी गर्न नसकेको आरोप लगाएका थिए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया