कोभिड-१९ आतंक : नियम खुला, सडकमा बढ्यो जाम

पुष्पा एम.सी । अहिले सडकमा सवारी चाप अत्याधिक देख्न सकिन्छ । सडकमा मानिसहरुको भीड, गन्तव्यमा जानका लागि तछाड–मछाड गरिएको देख्न सकिन्छ । होटल, पसलहरु खुलेका छन, साँझ परेपछि सडक किनारामा देखिने फुतपाथ पसलहरुले पनि निरन्तरता पाएका छन् अहिले ।
झण्डै छ महिनादेखि आंशिक तथा पूर्ण रुपमा बन्द भएको यातायातका साधनहरु अहिले संचालनमा ल्याइएको छ । सार्वजनिक यातायातमा जोर–विजोर प्रणाली लागु गरिएपनि नीजि सवारी साधनहरुलाई निर्वाध संचालित छन् ।

सुरुवाती दिनहरुमा किन जोर–विजोर लागु गरिएको होला भन्ने मेरो मनमा पनि नलागेको होइन, तर विस्तारै बुझ्दै जाँदा यसको उत्तर म आफैले भेट्टाए । कोरोना ‘कोभिड–१९’ आतंकका कारण नेपालमा लकडाउन सुरु भएसँगै चैत ११ गतेबाट बन्द भएको यातायातका साधन ‘एक्कासी सञ्चालनमा ल्याउँदा कठिनाई हुने भएकाले जोर–विजोर गरिएको रहेछ ।’ जोर–विजोरको अवस्थामा पनि अहिले सडकमा सवारी चाप बढ्दो छ । एक चोकबाट अर्काे चोकमा पुग्नका लागि सवारी जाममा पर्ने गरेको छ । कोरोना आतंकका कारण सरकारले सुरु गरेको ‘लकडाउन’, ‘सट–डाउन’, ‘निषेधाज्ञा’ अहिले भने पूर्ण रुपमा हटेका छन् । यो अवस्थामा सरकारलाई निकै ठूलो आर्थिक क्षति भयो । सर्वसाधारणको विहान–साँझको चुल्हो बल्न नि धौ–धौ छ । त्यसैले पनि अब कोरोना आतंकलाई जितेर मानिसहरु दैनिक काममा फर्किन थालेका हुन् । यसो भन्दैमा कोरोना महामारी भने हटेको छैन । नेपालमा कोरोना संक्रमित नै अहिले ६२ हजार नाघिसकेका छन् भने मर्नेको संख्या ४०० पुगेको छ ।
नेपालमा पहिलो पटक २ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै सुरु भएको लकडाउनले १७ हजारमा संक्रमण हुँदा अन्त्य भएको थियो । उद्योगी, व्यापारी र सर्वसाधारणको दवावमा सरकारले त्यतिबेला लकडाउनको अन्त्य गरेको जनाएको थियो । सोही अवधिमा अर्थमन्त्री डा.युवराज खतिवडाले ‘कर तिर्नै पर्ने’ अपिल गरे । यसले मानिसको चहलपहल बढ्यो । कोरोना संक्रमित र मृत्यु हुनेको संख्या पनि सोही अनुरुप बढ्दै गयो । त्यसपछि ‘रेड–जोन’को एरियालाई वडा, गाउँ वा नगरलेको आदेशमा शिल गर्ने सिस्टम ल्याइयो । यसले पनि ‘कोरोना’ संक्रमणलाई खासै असर गरेन । कोरोनाले आफ्नो ताण्डव देखाउँदै गयो । अन्ततः काठमाडौं उपत्यकालगायत अन्य जिल्लामा पनि निषेधाज्ञा जारी गरियो । यो विगत ६ महिनाको अवधि हो । भदौ २४ गतेबाट निषेधाज्ञाको पनि अन्त्य भयो । अझ असोज १ गतेबाट त सार्वजनिक सवारी साधनहरु समेत संचालनमा ल्याइएका छन् ।
अहिले मानिसमा कोरोनाप्रतिको डर विस्तारै विस्तारै हराउँदै गएको छ । हुनत घरको चुल्लो नबल्ने भएपछि किन पो डराएर बस्थे र ! ‘रोग भन्दा भोक ठूलो’ भएपछि । कोरोना महामारी झन–झन फैलिँदै गएपनि जति मानिसहरुमा पहिले कोरोनाप्रतिको डर थियो, त्यो डर ह्वात्तै घटेको पाइन्छ ।
मानिसहरु सार्वजनिक सवारी साधन प्रयोग गर्न थालिसकेका छन् । कोही मास्क प्रयोग गर्छन् त कति मास्कविनै सडकमा घुमिरहेको देख्न सकिन्छ । सरकारले कोरोना भाइरसबाट बच्नका लागि मास्क प्रयोग गर्न, भीडभाडमा नजान, सेनिटाइजरको प्रयोग गर्न सुझाइरहेको छ । यस्तो अवस्थामा केहीले सरकारको भनाईलाई पछ्याइरहेका छन् भने केही आफै जान्ने बनिरहेका छन् । भन्छन् ‘कोरोना कसरी लाग्छ सरकार, विज्ञहरु नै अन्यौलमा छन्, हामीले मास्क लगाएर यो नलाग्ने हो र ?’ अनौठो प्रश्न वास्तवमा कोरोना कसरी सर्छ ठ्याक्कै उत्तर अझैसम्म सार्वजनिक भएको छैन । त्यसैमाथि विभिन्न विकसित मुलुकहरुले कोरोना विरुद्धको भ्याक्सिन निर्माण गरेको, परिक्षण गरिँदै वा गरेको तथा तयार भएको सम्म भनिएपनि अझैसम्म नेपालमा त्यसबारे अत्तो पत्तो छैन । थाहा छ त केवल विश्वमा पनि कोरोना भाइरस आतंक बढीरहेछ । मृगौला पीडित, मुटु रोग वा कुनै पनि रोगले मृत्यु भएकाहरुमध्ये अधिकांशमा ‘कोरोना पोजेटिभ’ देखिनु र उसका परिवारमा कोरोना नेगेटिभ भेटिनु, सुत्केरी आमामा कोरोना संक्रमण देखिनु र त्यही शिशुमा कोरोना नदेखिनु जस्ता घटनाले पनि मानिसहरुमा यस्ता खाले प्रश्न उठ्नु स्वभाविक पनि मान्न सकिन्छ ।

कोरोनाले विश्वमा नै आफ्नो ताण्डव देखाइरहेको छ । नेपालमा पनि विगत ६ महिनादेखि सुरु गरेको ताण्डव अझै रोकिएको छैन । अझ असोज १ गतेदेखि सुरु गरिएको सामान्य जीवन यापनबाट कोरोना महामारीले कस्तो रुप लिने हो यसको आँकलनसम्म पनि गर्न सकिँदैन । ‘सरकारले लकडाउन गर्न हतार ग¥यो, अहिले अलपत्र पा¥यो’ भन्ने एकाथरी मानिसहरु अझै पनि कोरोनाबाट बच्ने उपायहरु अवलम्बन गरिरहेका छन् । नियमित व्यायाम गर्ने, तातो पानी, बेसार पानी, गुर्जाेपानी लगायत विभिन्न घरेलु औषधिहरु सेवन गर्ने र आफूले गरेको कार्य फोटो वा भिडियो बनाएर सामाजिक सञ्जालहरुमा पोष्ट्याउनेको एकाथरी जमान पनि छन् यहाँ । उनीहरुले पनि कोरोनाबाट बच्नका लागि विश्व स्वास्थ्य संगठनले जारी गरेको नियमलाई नै पछ्याउन सुझाव दिइरहेका छन् ।
काठमाडौं उपत्यकामा मात्रै सरदरमा दैनिक ६ सय बढी संक्रमित हुन थालेका छन् । निषेधाज्ञा अन्त्यसँगै सुरु भएको मानिसहरुको चलहपहल र भीडभाडले कोरोना संक्रमितहरु झन–झन थपिँदैछन् । सडकमा देखिने सवारी जाम र मानिसहरुको भीडले नेपालमै अबको खतर्नाक क्षेत्र भनेको काठमाडौं उपत्यका बन्नेमा दुई मत नहोला । यसअघि पनि कोरोना संक्रमितहरु धेरै जसो होम आइसोलेसनमा बसेका थिए । यसपछि हुने संक्रमितहरुलाई पनि उपत्यकामा बनाइएका क्वारेन्टाइनहरुले ठेग्न सक्ने स्थिति छैन । काठमाडौं महानगरपालिकाले चैत महिनामा नै काठमाडौं उपत्यकामा ५ हजार अट्ने सार्वजनिक क्वारेन्टाइन बनाउने भनि घोषणा गरिएको भएपनि त्यसको अहिलेसम्म अतोपत्तो छैन । बरु काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यलाई नै कोरोनाले भेटाएपछि उनी पाँच तारे होटल सोल्टीमा क्वारेन्टिनमा बसेको र सो खर्चको बिल महानगरपालिकामा पेश गरेको भन्ने कुरा अहिले बहसको विषय बनेको छ ।
सरकारले निषेधाज्ञाको अन्त्य गरेसँगै अब नागरिकलाई ‘आफ्नो सुरक्षा आफै गर !’ भन्ने खुला सन्देश दिएका बुझ्न सकिन्छ । घरबाहिर ननिस्किएर चुल्हो बल्दैन तर सजगता अपनाउनु अत्यावश्यक छ । अब कसैले आफ्नो लागि गर्दैला भन्ने छैन, सबैले आ–आफ्नो लागि गर्ने समय हो यो । त्यसैले कुनै विश्व स्वास्थ्य संगठनको मापदण्ड अपनाएर हुन्छ, वा नेपाली वैद्यको भनाई मानेर हुन्छ जसरी पनि आफू सरक्षित रहनुहोस् । तपाइ हामी सुरक्षित रहनु पर्छ भन्ने मानसिकता धेरैमा आयो भने कोरोनालाई जिताउन सकिन्छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया