काठमाडौं । कोरोना कहरकाबीच उपत्यकाका अस्पतालहरुमा रगतको अभाव हुन थालेपछि समाजसेवी ताराबहादुर कुँवरको पहलमा रक्तादान कार्यक्रमको आयोजना गरिएको छ ।
चक्रपथ सरसफाई अभियानका संयोजक एवम् नेपाल हेभी ईक्विपमेन्ट व्यवसायी महासंघका अध्यक्ष कुँवरले शनिबारसम्म पाँच पटक रक्तदान कार्यक्रम आयोजना गरिसकेका छन् । कार्यक्रममा ७१ जनाले रक्तदान गरेको बताउँदै उनले शनिबारको अभियानमा हेभी इक्युमेन्ट मेकानिकल व्यवसायी संघका अध्यक्ष नेत्रबहादुर अधिकारीले पनि सहकार्य गरेको बताए ।
रक्तदान अभियानलाई निरन्तरता दिने समाजसेवी कुँवरको भनाई छ । संकलित रगत नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयमा जम्मा गरिएको छ ।
कुँवरले आफ्नो व्यवसायसँगै सामाजिक अभियानलाई पनि सँगसँगै अघि बढाएका छन् । अरुलाई पनि प्रेरणा होस् भनेर आफूले दिनहुँजसो यस्तो कार्य गरिरहेको उनको भनाई छ ।
जनताका समस्या र आवाजलाई सम्बोधनका लागि आगामी दिनमा समेत अप्ठ्यारो अवस्थामा अग्रभागमा रहेर काम गर्ने गरी योजना निर्माण गरिने उनको भनाइ छ । समाजसेवी कुँवरले कोरोना भाइरसको रोकथामका लागि सरकारले गरेको लकडाउनदेखि आहिलेसम्म १ हजार २ सय भन्दाबढीलार्ई राहत स्वरुप खाद्यान्न वितरण गरेका छन् । उनले राहत वितरण अभियानलाई अहिले पनि निरन्तरता दिएका छन् ।
त्यसैगरी, केही दिनअघि उनले कोरोना भाइरसको रोकथामका लागि भनेर गुर्जो पनि वितरण गरेका थिए । उनले गुर्जोका अभियन्ता कमलबहादुर राजलवटले दुई चरणसम्म गुर्जो उपलब्ध गराएको बताए ।
त्यति मात्र होईन, समाजसेवी कुवँरले चितवनको माडीस्थीत कुसुम खोलामा निकुञ्जले आगो लगाईदिएको चेपाङ परिवारको घर पुनःनिर्माण अभियान पनि सुरु गरेका छन् ।
केही हप्ताअघि घर निर्माणका लागि माडी नगरपालिका ९ का वडा अध्यक्ष शिवहरी सुवेदीको अध्यक्षतामा निर्माण कमिटी गठन गरि ग्लोबल आईएमइ बैंकमा ४१ हजार रुपैयाँ जम्मा गरि कुँवरले अभियानको सुरुवात गरेका थिए । हाल उक्त अभियानका लागि सहयोग जुटिरहेको समाजसेवी कुँवरले बताए।

फेसबुकबाट तपाइको प्रतिक्रिया