कविकिरण न्यौपाने,जापान । पछिल्लो समय जापानमा नेपालीहरुमा कोरोना भाईरस संक्रमण बढेको छ । यस्तो महामारीको बेला पनि जापानमा विभिन्न भेलाहरुमा जमघट नरोकिएकोले नेपालीहरुमा संक्रमण फैलिएको बताईन्छ । जापानमा रहेका नेपालीहरुको विभिन्न संघ संस्थाहरु यस्तो महामारीमा पनि साधारण सभा,अधिवेशन तथा विभिन्न कार्यक्रम गरिरहेका छन् । यस्तो महामारीको बेला सबै नेपालीहरु आँफै सचेत हुन जरुरी भएको नेपाल पत्रकार महासघ ,जापान शाखाका अध्यक्ष मोहन घलेको भनाई छ । एनआरएनए जापानका अध्यक्ष देविलाल भण्डारीलाई कोरोनाभाईरस संक्रमण पुष्टि भएको छ । सामान्य टाउको दुख्नुका साथै शरीरमा केहि अस्वस्थता भएपछि ८ तारिख जापानको खानागावा अस्पतालमा परिक्षणका लागि पुगेका भण्डारीलाई कोरोना परिक्षण गराउँदा संक्रमण देखिएको हो । चिकित्सकको परामर्श अनुसार खानागावाकै एक होटलको आईसोलेसनमा बसेको उनले बताए । आफ्नो पिसिआर रिपोर्ट पोजिटिभ आएकाले पछिल्ला केहिदिन यता आफ्नो प्रत्यक्ष सम्पर्गमा रहेका सबै व्यक्तिहरुलाई सतर्कता अप्नाएर कोरोना परिक्षण गराउनका लागि उनले अनुरोध गरेका छन् । सपरिवार जापानमा रहँदै आएका भण्डारीको परिवारका अन्य सदस्यहरुमा भने संक्रमणको कुनै लक्षण देखिएको छैन । उनीसंगै जापान स्थित खानागावा स्थित नेपाली कम्यूनिटीका सचिव समेत रहेका यमकान्त कँडेललाई पनि कोराना संक्रमण भएको भण्डारीले बताए। एनआरएनए जापानका अध्यक्ष रहेका भण्डारी गत साता मात्रै जापानमा नेपालीहरुको धेरै कार्यक्रमहरुमा सहभागी भएको बताइएको छ । त्यसैले धेरै नेपालीहरुलाई कोरोना संक्रमण हुन सक्ने अडकलबाजी गर्न थालिएको छ ।
यसैविच लोक तथा दोहोरी गीत प्रतिष्ठान जापानका अध्यक्ष,गायक सूर्य खड्का,एनआरएनए आईसीसी सदस्य डिपी कँडेलमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनका अनुसार उनको स्वास्थ्य अबस्था सामान्य रहेको र आँफु टोकियो क्योसाई हस्पिटल नाकामेगुरोमा भर्ना गरी चेकजाँच संगै चिकित्सकको निगरानीमा रहेको वताउँदै उनले हस्पिटलको प्रक्रिया र यहाँको वातावरणमा फोन कलहरु र म्यासेजहरुको रिप्लाई गर्न नसकेकोमा क्षमाप्रार्थी छु भनेका छन् । उनले आफ्नो स्वास्थ्यको चासो राख्ने सबैलाई धन्यवाद दिएका छन् ।
त्यसै नेपालवाट नेपाल एयरलाईन्सको उडानबाट अक्टोवर ९ तारिख जापान आएका चार जना नेपालीलाई पनि कोरोना पुष्टि भएको छ । जस मध्ये एक जनाको टोकियोको एक अस्पतालमा उपचार भईरहेको छ भने ३जना लाई भने टोकियोको एक होटेलमा क्वारेन्टाइनमा राखिएको बताइएको छ ।
यतिवेला टोकियोमा धेरै नेपालीहरुलाई कोरोना संक्रमण भएको हुन सक्ने भन्दै जापानको योकोहामा स्थित वर्डा कार्यालयले दर्जनौं नेपालीहरुलाई उच्च निगरानीमा राखिएको बताइएको छ । योकोहामा नै एक नेपाली युवाले नाम नबताउने शर्तमा आँफु समेत अन्य नेपालीहरु पनि कोरोना संक्रमित भएको बताए ।
जापानमा नेपालीहरुलाई कोरोना संक्रमण बढ्न थालेपछि जापानमा रहेका केही संघ संस्थाहरुले आफ्ना पूर्व निर्धारित कार्यक्रमहरु स्थगित गर्न थालेका छन् । पछिल्लो समय पर्वत समाज जापानको अधिवेशन,गुल्मेली समाज जापानको अधिवेशन,चितवन समाज जापानले वडा दशैंको शुभ कामना आदान प्रदान तथा सम्मान कार्यक्रम हालै मात्र स्थगित गरेको छ । जापानमा कोरोना भाइरस संक्रमण नेपालीहरूमा फैलिरहेकोले पूर्व निर्धारित कार्यक्रम स्थगन गर्न परेको समाजका अध्यक्ष राजनकुमार श्रेष्ठले बताए । जापानमा अध्ययन ,रोजगारी एवं व्यवसायी गर्दै करिव एक लाखको हाराहारीमा नेपालीहरु रहेको छन् । साथै जापानमा नेपालीहरुको १ सयजतिको संघ संस्थाहरु रहेका छन् ।
जापानमा नेपाली समुदायमा कोरोना संक्रमण फैलिएको प्रति चिन्ता व्यक्त गर्दै जापानस्थित नेपाली राजदुतबासका राजदुत प्रतिभा राणाले सबै नेपालीलाई नआत्तिन र कोरोना संक्रमण भए नलुकाउन भनेकी छन् ।
यस्तो महामारीमा नेपाली समुदायलाई कुनै पनि जमघटको कार्यक्रम नगर्न र सावधानी अपनाउन आग्रह गरेकी छन् । जापानमा स्वास्थ्यका सबै नियमहरु पालना गर्न र कुनै समस्या परेमा दुतावासमा सम्पर्क गर्न उनले आग्रह गरेकी छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया