म मेरी छोरी जोगाउन चाहन्छु

सविता पनेरु,
म हरेक बिहानी केही नयाँ जान्न चाहन्छु,
केही नयाँ सुन्न चाहन्छु।
दैनिक समाचारहरु सरसर्ती हेर्छु।
आजकाल समाचार सुन्न तथा पत्रपत्रिका हेर्न म असाध्यै डराउँछु।
किनकी मलाई थाहा छ,
सधैं जस्तो एउटा प्रमुख समाचार,
आफ्नै बाबुद्वारा छोरी बलात्कृत,
आफ्नै प्रेमीद्वारा प्रेमिकाको हत्या,
सार्वजनिक यातायातमा सवार गर्दै गरेकि किशोरीमाथी सामुहिक बलात्कार यस्तै यस्तै……।
कुनै दिन यस्तो छैन,
जुन दिन कुनै पनि छोरी नलुटिएको होस्,
नचुडिएको होस्, नदुखिएको होस्।
हात खुट्टा थर-थर काप्न थाल्छन्,
जीउ सल्याङ-सुलङ भएर आउँछन्।
म सहजै महसुस गर्न सक्छु,
बलात्कृत छोरीको पिडा।
म अनुभव गर्न सक्छु ति आमाहरुको अवस्था,
म सम्झन्छु हुर्कदै गरेको मेरी बहिनि, भान्जि,
अनि मेरी छोरी….
म मेरो छोरीलाई फुल ?जस्तै मुस्कुराएको हेर्न चाहन्छु,
पुतली ? झैं नाचेको देख्न चाहन्छु।
तर म कसरी सिकाऊँ, मेरी हुर्कदै गरेकी छोरीलाई?
तिम्रो वरिपरी खतरा नै खतरा छन्।
म कसरी बुझाऊँ, खतरा कोसँग छ? अनि कहाँ छ?
अपरिचितहरुसँग की परिचितहरुसँग?
गाऊँमा की शहरमा?
बन्द कोठामा की खुला वातावरणमा?
म मेरी छोरीलाई यी सबैबाट टाढा राख्न चाहन्छु।
म एउटा साधारण नागरिक,
म मेरी छोरीलाई यस्ता प्रमुख समाचार बनाउन चाहन्न,
जसले हरेक आमा तथा छोरीको मानसिकता खल्बलियोस्।
अपरिचितहरुसँग त केही हद सम्म भने पनि जोगाउन सकुँला तर
परिचितहरुसँग म कसरी जाेगाऊँ??
नाता अनि सम्बन्धको महत्व बुझ्न थालेकी त्यो अबोध बालिकालाई तिम्रा बाबा, दादा, मामा, काका, साथी, शिक्षक… सबै अपराधी हुन् भनेर सिकाऊँ?
यो पनि त म सक्दिन।
किनकि म त आमा हुँ,
छोराहरूलाई जन्माउने पनि मै हुँ।
सबै छोरा मान्छे खराब हुन्छन् भन्न कसरी सक्छु?
दैनिक यस्ता घटना घट्लान् भन्दा झन् बढी रहेका छन्।
अनि अपराधीलाई कारबाही माग गर्दै नाराबाजी भएको देखिन्छ।
हामीले रोग पछिको उपचार खोजेको होइन,
रोग नै नलागोस् भन्ने चाहेको हो।
म जान्न चाहन्छु यस्ता घटना घटाउन देशमा केही कार्यक्रम होला कि नहोला?
मेरो स्नातकोत्तरसम्मको अध्ययनमा मैंले यस्ता घटनाबाट आँफुलाई सुरक्षा गर्ने कुनै ठोस उपाय जानेकी रहेनछु, जुन आज म मेरी छोरीलाई सिकाउन सकिरहेको छैन।
अब यस्ता समाचार सच्याउन चाहन्छु।
अँझ भनौँ सायद सबै आमा बाबा यही चाहन्छन्।
सामुहिक बलात्कार प्रयास गर्न खोज्ने आपराधिक समुहलाई १२ बर्षे बालिकाद्वारा प्रहरी हिरासतमा ल्याउन सफल,
बलात्कार प्रयास गर्ने आफ्नै बाबा छोरीद्वारा गम्भीर घाइते, यस्तै-यस्तै,….
के यस्तो कुनै कार्यक्रम छ जसले बालबालिकाहरु आफ्नो सुरक्षा आफै गर्न सकुन्?
के सबैले भने जस्तै सरकार कान नसुन्ने, आँखा नदेख्ने तथा लाचार छ?
सरकार कानमा तेल हालेर बसेकै हो त?
अनि के यी सबैको समाधान गर्ने काम सरकारको मात्र हो त?
जसले जे सुकै गरोस् मलाई मेरो छोरी कुनै पनि हालतमा जोगाउनु छ। म मेरो छोरीको हरेक पल ढाल बनेर सँगसँगै खडा हुन त सक्दिन तर म मेरी छोरीलाई यी खतराबाट टाढा राख्न चाहन्छु। उसको नजिकको खतरा ऊ आँफै महसुस गर्न सकोस् अनि आफ्नो सुरक्षा आँफै गर्न सकोस्। म एक सामान्य नागरिक हैसियतले मैले के गर्न सक्छु यस्ता घटना घटाउन? एउटी आमाले आफ्नी छाेरीलाई यस्ता आपराधिक घटनाहरुबाट जोगाउन के गर्नुपर्छ हाेला? आमाको आवाज सुनिदिने कुनै निकाय छ होला देशमा? जसलाई हामी निर्धक्क विश्वास गर्न सकियोस्।
देशमा यस्ता केही निकाय भए खोजी गरौँ। जसले सामाजिक अपराधको निराकरण गर्न सहयोग गरोस्। सामाजिक अपराधका सबै स्थानमा सरकार आँखा पुग्दैन। सरकारको आँखा नपुगेको ठाउँमा हाम्रो आँखा पुग्न सक्छ त्यसैले यस्ता घटना घटाउन नदिन हामी पनि जुटौँ। मैले त आजबाट कोसिस गरेँ। के हजुरहरु पनि तयार हुनुहुन्छ??
जो बुझ्न सक्दैनन् उनीहरुको विशेष ध्यान राखौँ। जो केही बुझ्न सक्छन् , उनीहरुलाई आँफुले जानेसम्मको खतराहरुबाट अवगत गराऊँ। हाम्रो छोरी चेलीको सुरक्षा गर्न हामी आ-आफ्नो स्थानबाट जुटौँ। एक अर्कालाई सहयोग गरौँ । सुरक्षित तथा सभ्य समाजको निर्माण गरौँ।

@चिवा, जापान

फेसबुकबाट तपाइको प्रतिक्रिया