दसैँको मुख्य दिन आज विजया दशमी,जापानमा बिहान १०:३५ बजे टीका ग्रहणको उत्तम साइत

टोकियो । बडादसैँको मुख्य दिन आज विजया दशमी,मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ ।

घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक गरी विजया दशमीको टीका लगाइन्छ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजया दशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गाभवानीको प्रसादस्वरुप टीका र जमरा थापेर मनाइन्छ । अन्तर्राष्ट्रीय पञ्चाङ्ग निर्णायक समितिको जानकारी अनुसार जापानको नेपालीहरुको लागि  साइत बिहान १०:३५ बजे र टीकाप्रसाद ग्रहण गर्न साइत उत्तम रहेको जनाएको छ ।

आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रुप मानी लगाइन्छ । जमराले विभिन्न रोगव्याधिमा औषधिको रुपमा काम गर्ने तथ्य वैज्ञानिकरुपमा समेत पुष्टि भइसकेको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिरहेकाले जमराको रस सेवन गर्नाले रोग प्रतिरोधी क्षमता वृद्धि हुने आयुर्वेदका चिकित्सकको भनाइ छ ।
आजकै दिन मौर्यसम्राट् अशोकले शस्त्रास्त्र परित्याग गरेकाले बौद्धहरु शस्त्रपरित्याग दिवस मनाउँछन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया