जलविद्युतको ‘हव’ बन्दै ताराखोला, थपिँदै चार ठूला आयोजना

गलकोट । बागलुङ जिल्लाको ताराखोला गाउँपालिकामा धमाधम जलविद्युत् आयोजना निर्माण भइरहेका छन् । सयपत्री जलविद्युत् निर्माण सम्पन्न भएको ताराखोलामा हालै ताराखोला जलविद्युत् आयोजना ३८० किलोवाट निर्माण सम्पन्न भइसकेको छ ।

अहिले ताराखोलामा पुनः ठूला परिमाणमा विद्युत् उत्पादन गर्ने लक्ष्यसहित चार ठूला आयोजना सञ्चालनको तयारी थालिएको छ । मध्यताराखोला जलविद्युत् आयोजना निर्माण शुरु भइसकेको छ भने अन्य तीन जलविद्युत् आयोजना निर्माणको प्रक्रियामा रहेका छन् । पछिल्लो समय ताराखोला जलविद्युत्को ‘हव’ बन्दै गइरहेको छ ।

साना लघु जलविद्युत्को भरमा रहेको ताराखोलाको अधिकांश भागमा केन्द्रिय विद्युत् नपुगेको समयमा ताराखोलामा धमाधम जलविद्युत् आयोजना निर्माण भइरहेका छन् । केन्द्रिय प्रसारण लाइनमा जोड्ने गरी मध्यताराखोला जलविद्युत् आयोजना २दशमलव२ मेगावाटको निर्माण कार्य चलिरहेको आयोजनाका प्रबन्ध निर्देशक अनिल खड्काले बताए ।

ताराखोला गाउँपालिका–५ करिमेलामा ताराखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न भएर उत्पादन थालेपछि सोही ठाउँदेखि तल मध्यतारा जलविद्युत् आयोजनाको निर्माण शुरु भएको हो ।
गत वर्षको माघदेखि शुरु भएको आयोजनाको निर्माण कोरोनाका कारण बीचमा रोकिएको थियो ।
अहिले दशैँ तिहारको बीचमा समेत आयोजनमा २५ जना कामदारले निरन्तर काम गर्दै आएको खड्काको भनाइ छ । आयोजनाको हालसम्म ४० प्रतिशत काम सम्पन्न भइसकेको भन्दै खड्काले यही वर्षभित्र उत्पादन दिने गरी आयोजना निर्माण गर्ने लक्ष्य लिएको बताए ।
विसं २०६९ मा लाइसेन्स प्राप्त गरेको आयोजानाले हाल आएर धमामध काम थालेको हो ।

उक्त आयोजनाले ताराखोला, छेल्लर र नागबेली खोलालाई एउटै बाँधमा मिसाएर उक्त पानीलाई १२६ मिटर तल खसालेर विद्युत् उत्पादन गरिनेछ । उक्त आयोजनाको कुल लागत २६ करोड रहेको छ । आयोजनामा प्रभु बैंकसहित अन्य १० जनाले लगानी गरिरहेका छन् ।

मध्यताराखोला जलविद्युत् आयोजनाले गति लिएको छ भने ताराखोला हुँदै गलकोटसम्म अन्य तीन आयोजनाको कामसमेत अगाडि बढेको छ, खड्काले भने हामी एउटै बाँधमा दुई आयोजना जोडेर निर्माण गर्ने गरी अगाडि बढ्दै आएका छौँ ।

स्थानीय प्रयोजनका लागि निर्माण गरिएको ताराखोला जलविद्युत् आयोजनाले उत्पादन गरेको विद्युत् खपत नभएपछि केन्द्रिय प्रसारण लाइनमा समेत जोड्न थालिएको छ । अहिले मध्यतारा जलविद्युत् आयोजनाको पाइपलाइन निर्माण भइरहेको स्थानीय लगानीकर्ता धनबहादुर विकले जानकारी दिए ।

एउटा जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन गरी निस्केको पानीलाई सोझै अर्को विद्युत्गृहमा हाल्ने (क्यासकेट प्रोजेक्ट) प्रविधि अन्तर्गत चारै आयोजना निर्माण गरिनेछ । आयोजना जोडेर निर्माण गर्दा आयोजनाको शुरुको आयोजनामा मात्रै बाँध निर्माण गर्नुपर्ने भएकाले लागत घटेर जानेछ । आयोजनामा उत्पादन भएको विद्युत् केन्द्रिय प्रसारण लाइनअन्र्तगत हरिचौर सवस्टेशनमा जोडिनेछ ।

मध्यतारा जलविद्युत् आयोजनामा विद्युत् उत्पादन भएर आएको पानीमा तल्लो ताराखोला जलविद्युत् आयोजना ३।५ मेगावाट निर्माण गर्नका लागि प्रक्रिया शुरु भएको छ । यस्तै यही आयोजनाका लगानीकर्ताले मध्यदरमखोला ‘ए’ जलविद्युत आयोजना र मध्यदरमखोला जलविद्युत आयोजना ‘बी’ समेत निर्माण गर्नेछ ।

मध्यदरमखोला समेत एउटै बाँधबाट दुई आयोजना निर्माण हुनेछन् । मध्यदरम ‘ए’ तीन मेगावाट र मध्यदरम ‘बी’ ४।५ मेगावाट क्षमताको हुनेछ । ताराखोलामा जलविद्युत् आयोजना निर्माणले गति लिएपछि स्थानीयवासीहरुको समेत लगानी हुने भएकाले आर्थिक समृद्धि हुने ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले बताए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया