काठमाडौं । पार्टीभित्रको आन्तरिक विवाद समाधानको लागि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीमा बनेको ‘कार्यदल’ फेरि सक्रिय भएको छ । स्थायी कमिटी बैठकसँगै चर्किएको विवाद टुंगोमा पुर्याउने क्रममा यही कार्यदलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको जिम्मेवारी निर्धारण गर्दै आगामी चैतमा एकताको महाधिवेशन गर्ने सुझाव पेस गरेको थियो । कार्यदलको सुझाव परिमार्जनसहित स्थायी कमिटी बैठकले १५ बुँदे निर्णय गरेपछि नेकपाको संकट टरेको थियो ।
अहिले फेरि अध्यक्ष ओली तथा अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच विवाद चर्किएको छ । पार्टीभित्र फेरि संकट देखिएकाले कार्यदल सक्रिय बनाइएको स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले बताए ।
कार्यदलका सदस्यहरुसँग छुट्टा-छुट्टै कुराकानी गरेपछि महासचिव पौडेलले आज सोमबार संयुक्त छलफल राखेका छन् । कार्यदलका सदस्यहरुले आजै अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर कुरा राख्ने तयारी गरेका छन् ।
कार्यदलमा नेकपाभित्र तीनै खेमा (ओली, प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल) का दुई/दुई जना सदस्य थिए । ओलीका तर्फबाट पौडेल र शंकर पोखरेल, प्रचण्डका तर्फबाट जनार्दन शर्मा र पम्फा भुसाल तथा नेपालका तर्फबाट भीम रावल र सुरेन्द्र पाण्डे सदस्य थिए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया