‘छिमेकबाट भएका पछिल्ला नेपाल भ्रमण उपलब्धिमूलक’

काटमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले छिमेकी चीन र भारतबाट हालै भएका उच्चस्तरीय नेपाल भ्रमण उपलब्धिमूलक भएको बताएका छन्।

प्रतिनिधिसभा, अन्तरराष्ट्रिय सम्बन्ध समितिको शुक्रबारको बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले दुवै देशबाट भएका भ्रमण द्विपक्षीय सम्बन्ध थप सुदृढ बनाउन र आपसी सहयोग अभिवृद्धि गर्न महत्वपूर्ण रहेको जानकारी दिए ।

भारतीय विदेश सचिव हर्षबर्धन श्रृङ्गलाले यही मङ्सिर ११ र चीनका राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हेले मङ्सिर १४ गते नेपालको औपचारिक भ्रमण गरेका थिए। भारतीय विदेश सचिव श्रृङ्गलाको भ्रमण कोभिड–१९ को सङ्क्रमणपछि नेपाल र भारतबीच रोकिएका द्विपक्षीय भ्रमणको शुरुआत भएको जनाउँदै मन्त्री ज्ञवालीले भ्रमणमा दुई देशबीचको सीमा समस्या औपचरिक कार्यसूचीमा समावेश गरिएको बताए ।

भारतले नेपालका भूभाग समेटेर नयाँ नक्शा जारी र लिपुलेक हुँदै मानसरोवर जोड्ने सडक उद्घाटन गरेपछि तथा नेपालले पनि आफ्ना भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटी हालसालै नयाँ नक्शा जारी गरेपछि दुवै देशबीचको सम्बन्धमा केही चिसोपना आएको थियो । नेपाल–भारत संयुक्त समितिको बैठक चाँडै हुने र दुवै देशबीचका थाती रहेका विषय सो बैठकमार्फत यथाशक्य समाधान गर्न पहल गरिने उनको भनाइ थियो ।

यसैगरी चीनका रक्षामन्त्री वेइको नेपाल भ्रमण सैनिक सहयोग आदानप्रदान गर्न र द्विपक्षीय सम्बन्ध थप सुदृढ गर्न महत्वपूर्ण भएको उनले बताए । मन्त्री ज्ञवालीले गत वर्ष चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका बेला भएका सम्झौतालाई गति दिन पनि सो भ्रमण फलदायी भएको बताए।

नयाँ परराष्ट्र नीति छिट्टै सार्वजनिक हुने
सांसदका जिज्ञासामा मन्त्री ज्ञवालीले भारतसँगको सीमा समस्या सामाधानका लागि विभिन्न तवरले पहल भइरहेको जानकारी दिँदै चीनसँग भने सीमा समस्या नभएको स्पष्ट पारे । उनले केही दिनभित्रै सरकारको परराष्ट्र नीति सार्वजनिक गरिने पनि जानकारी दिए।

मन्त्री ज्ञवालीले कोरोनाविरुद्धको खोप नेपालमा ल्याउने बारेमा सरकारले पहल गरिरहेको बताउँदै कोभ्याक्सअन्तर्गत २० प्रतिशत खोप सहुलियत दरमा आउने र बाँकी ल्याउन विभिन्न मित्र राष्ट्रसँग पत्राचार भइसकेको जानकारी दिए। एक फरक प्रसङ्गमा उनले ट्रान्सपरेन्सी इन्टरनेशनलले हालै सार्वजनिक गरेको भ्रष्टाचारसम्बन्धी प्रतिवेदन तथ्यमा आधारित नभई दृष्टिकोणमा मात्र आधारित भएको टिप्पणी गरे ।

समितिका सभापति पवित्रा निरौलाले समितिको अर्को बैठकमा मुलुकको राष्ट्रिय सुरक्षा नीतिका बारेमा रक्षा मन्त्रालयसँग छलफल गरिने जानकारी दिए । बैठकमा समिति सदस्यले दुई देशबाट भएका नेपाल भ्रमण र नेपाल सरकारको परराष्ट्र नीतिका बारेमा जिज्ञासा राखेका थिए। सांसद भीमबहादुर रावलले नेपालको नदी प्रणालीअन्तर्गत भारतले थप बाँध बाँध्न लागेको भनिएको योजना, प्रबुद्ध व्यक्ति समूह इपिजीको प्रतिवेदन, भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुखले नेपालका प्रधानमन्त्रीलाई गरेको भेट, चिनियाँ सहयोगका परियोजनाका प्रगति, संयुक्त राज्य अमेरिकासँग भएको सम्झौतालगायत विषयमा जिज्ञासा राखेका थिए।

यस्तै, सांसद प्रकाशमान सिंहले भारतसँग मात्र नभई चीनसँगको सीमा विवादका सम्बन्धमा पनि जिज्ञासा राखेका थिए । सरकारको परराष्ट्र नीतिबारे जनताले जानकारी पाउनुपर्ने सांसद दिव्यमणि राजभण्डारीको माग छ। सांसद सुजाता कोइरालाले कोरोनाविरुद्धको खोप नेपालमा कहिलेसम्म आइपुग्छ र वितरण सम्बन्धमा सरकारको योजना के छ भनी प्रश्न गरेकी थिईन्।

सांसद मेनुका गुरुङले भारतबाट भएको भ्रमणले कूटनीतिक ढोका खुलेको बताउँदै भारतसँगका थाती मुद्दा समाधानमा मन्त्रालय क्रियाशील हुनुपर्ने सुझाव दिईन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया