एजेन्सी । अमेरिकाको राष्ट्रपति पदमा निर्वाचित जो बाइडनले आफूले पद सम्हालेको पहिलो एक सय दिनमा १० करोडलाई खोप दिने लक्ष्य राखेको बताएका छन्।
उनले आफ्नो कार्यकालका सुरुवाती महिनामा महामारी अन्त्य नभए पनि त्यसबीचमा कोरोना संक्रमणको बाटो मोडिदिने बताए।
उनले आफ्ना रणनीतिबारे भने थप बताएका छैनन्। २० जनवरीबाट कार्यकाल सुरु गर्नका लागि उनको साथमा हुने स्वास्थ्य कार्यदलको परिचय गराउँदै बाइडनले अमेरिकी नागरिकहरुलाई १०० दिनसम्म मास्क लगाउनु आग्रह गरे।
मङ्गलवार नै अमेरिकी नियामक निकायले फाइजर र बायोएनटेकको खोप ९५ प्रतिसतसम्म प्रभावकारी रहेको पुष्टि गरेको छ। खाद्य तथा औषधि निकाय एफडिएले सुरक्षाका कारण फाइजर र बायोएनटेकको खोपलाई स्वीकृति दिन रोक्नुपर्ने कुनै कारण नभेटिएको जनाएको हो।
ब्रिटेनमा गतसाता स्वीकृति दिएर धेरै जनामा लगाउन सुरु गरिसकिएको यो खोपबारे अमेरिकाले पहिलोपटक यो तहमा बोलेको हो।
औपचारिक निर्णयका लागि एफडिएले बिहीवार एउटा बैठक गर्दैछ। यसबाट अब उक्त खोप आपत्कालिन प्रयोगका लागि स्वीकृति दिन सकिने बाटो खुलेको बिबिसीले जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया