कोपा इटालियामा युभेन्टसको सानदार जित

एसपालमाथि सानदार जित निकाल्दै युभेन्टस कोपा इटालियाको सेमिफाइनलमा प्रवेश गरेको छ ।

घरेलु मैदानमा गएराति भएको खेलमा युभेन्टसले आफ्नो स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोविना एसपालमाथि ४–० को फराकिलो जित निकालेका हो । युभेन्टसको फराकिलो जितमा अल्भारो मोराटा, जियानलुका फ्राबोट्टा, डिजान कुलुसेभ्स्की र फेडरिको चियसाले गोल गरे । पहिलो र दोस्रो हाफमा समान २ गोल भएको थियो।

खेलको १६ औं मिनेटमा मोराटाले पेनाल्टीमा गोल गर्दै युभेन्टसलाई खेलमा अगाडि बढाएका थिए । ३३ औं मिनेटमा कुलुसेव्स्कीको पासमा फ्राबोट्टाले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए ।

पहिलो हाफमा दुई गोल गरेको युभेन्टसले दोस्रो हाफमा पनि थप दुई गोल गर्‍यो । ७८ औं मिनेटमा चिएसाको पासमा कुलुसेव्स्कीले गोल गरेपछि युभेन्टस सहज जिततर्फ अगाडि बढेको थियो । खेलको अन्तिम मिनेटमा डा ग्रासाको पासमा चिएसाले गोल गर्दै युभेन्टसलाई ४–० गोलको सहज जित दिलाए ।

अब युभेन्टसले सेमिफाइनलमा इन्टरमिलानको सामना गर्नेछ । इन्टरले एसी मिलानलाई २–१ हराउदै अन्तिम चारमा स्थान पक्का गरेको थियो । सेमिफाइनल १० फेब्रुअरीमा हुनेछ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया