अमेरिकी राष्ट्रपति जो बाइडनले यमनमा भइरहेका आक्रामक कारबाहीमा अमेरिकाले गर्दै आएको समर्थन अन्त्य गर्ने बताएका छन् । ६ वर्षभन्दा लामो समयदेखि जारी युद्धमा यमनमा एक लाख १० हजारभन्दा बढी मानिसहरूले ज्यान गुमाएको ठानिन्छ ।
बाइडनका दुई पूर्ववर्तीहरूको प्रशासनका बेला हुथी विद्रोहीविरुद्ध साउदी अरेबियाको नेतृत्वको गठबन्धनले यमनमा गरेको युद्धमा अमेरिकाले समर्थन जनाएको थियो । सन् २०१४ मा यमनको कमजोर सरकार र हुथी विद्रोहीबीच लडाइँ सुरु भएको थियो ।
त्यसको एक वर्षपछि साउदी अरेबिया र आठ अन्य अरब देशसहित अमेरिका, वेलायत र फ्रान्सले हुथीविरुद्ध हवाई हमला थालेपछि द्वन्द्व चर्किएको हो । तर अलकायदाविरुद्धको कारबाहीलाई यसले असर गर्दैन । बिहीवारको घोषणापछि अब अमेरिकाले आक्रामक कारबाहीहरू रोक्छ। त्यसबाहेक साउदी अरेबिया र संयुक्त अरब एमिरेट्सलाई हतियारहरू पनि विक्री गर्न बन्द गर्छ ।
बाइडन प्रशासनले यसअघि नै साउदी अरेबिया र संयुक्त अरब एमिरेट्सलाई अस्थायी रूपमा हतियारहरू बेच्न रोकिसकेको थियो । बाइडनले यमनका लागि नयाँ दूतमा टीम लेन्डरकिंगलाई नियुक्त गर्ने बताइएको छ। उनी अनुभवी कूटनीतिज्ञ र मध्यपूर्व मामिलाका विज्ञ हुन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया