काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले निर्वाचनका बेला जनतासामु गरेका बाचा पूरा गर्न नदिएपछि प्रतिनिधिसभा विघटन गरेको बताएका छन् ।
तीन वर्षमा सरकारले गरेका उपलब्धि जानकारी गराउन सोमबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले पार्टीभित्रैबाट जनतासँग गरिएका बाचा पूरा गर्न नदिएकाले प्रतिनिधिसभा विघटन गरेको बताएका हुन् ।उनले संसद विघटन गर्नुअघि आफूले धेरै सोचेको र वैकल्पि सरकार गठन गर्ने आधार नदेखिएकाले विघटन गरेको बताए । उनले निर्वाचन घोषणालाई प्रतिगमन नभन्न आग्रह गरे ।
प्रचण्ड नेपाल समूहतर्फ लक्षित गर्दै प्रधानमन्त्रीले भने,‘निर्वाचनमा जनादेशमा जाऔं भन्दा कसरी त्यो प्रतिगमन हुन्छ । अहिले निर्वाचन नभएपछि दुई वर्षपछि त निर्वाचनमा जानुनै थियो । कि उहाँहरु जन्मकुण्डली पल्टाएर हेर्नुुहुन्छ कि संविधान ?’
उनले आफू सधैं सत्तामा बसिरहन नचाहेको पनि बताए । प्रधानमन्त्रीले यो जनदेशको अवहेलना नभई जनादेशको सम्मान भएको बताए । उनले संसदीय समितिमा पुगेका विधेयकहरु अनावश्यक गोलचक्करमा फसिरहेका र फसाइ संसदमा प्रस्तुत नगरिएको, संवैधानिक अंगमा नियुक्ति गर्न नदिएर घेराबन्दी मात्र गरिएको बताए ।
उनले भने, ‘राजदूत खाली छन् नियुक्ति गर्न दिइएन, संवैधानिक अंगमा कसैको सिफारिस गर्दा कचिंगल मच्याइयो, आफ्नै दलका सदस्यले संसदीय सुनुवाई समितिमा अड्काउने, विकास सम्बन्धी विधेयक र सार्वजनिक खरिद ऐन विधेयकलाई समेत अड्काइ विकासको गतिलाई अवरोध पुर्याइयो, कार्यकारी पदमा अनुपयुक्त पात्र अघि सार्ने र नियुक्ति गर्न नदिने र समानान्तर सरकार गठनको प्रयास भयो । अनि कसरी गर्ने काम ?’
उनले एकवर्षदेखि अनेकौं लान्छना सहेरै निर्वाचन बीचमा गर्नु नपरोस् भनेर धेरै सहेको तर सम्झाउने प्रयास असफल भएको बताए । उनले भने, ‘प्रधानमन्त्रीविरुद्ध निराधार फौजदारी अभियोग छापेर देशभर वितरण गरेर सरकारमाथि हमला भयो । सकेसम्म विस्थापित गर्नेलाई सम्झाउने प्रयास गरेको हो । लगातार गर्दा पनि असफल भएँ । खुइल्याउने प्रयास नगरौं, पार्टी र सरकार चलाऔं भनेर प्रयास गरें । पुस पाँच गतेको अपरान्हसम्म लगातार प्रयास गरें । प्रतिनिधिसभा विघटन गर्नुअघि धेरै पल्ट सोचें विघटनगर्नुनपरोस भनेर प्रयास गरे । तर नसकेपछि विघटन गर्न बाध्य भएँ।’
उनले संसदीय दलमा आफूविरुद्ध कुनै उजुरी नपरेको बताए । उनले आफू ६४ प्रतिशत मत भएको दलको नेता भएको दाबी गरे । उनले भने, ‘एक जना व्यक्तिले झुठो लान्छनाको पत्रबाहेक मेराविरुद्ध संसदीय दलमा केही छैन अरु उजुरी । पार्टी भित्र पनि संसदीय दलको नेता बदल्नुपर्छ भन्ने कुरै उठेको थिएन । नेकपाभन्दा बाहिरबाट जहाँ ३६ प्रतिशत संख्या त्यो ५१ प्रतिशत त पुग्दैन । अनि नयाँ कदम चालेको हुँ ।’

फेसबुकबाट तपाइको प्रतिक्रिया