लालध्वज देउसा राईलाई ५१ हजार राशीको’पत्रकारिता दीर्घ सेवा पुरस्कार’

भर्जिनिया, अमेरिका । नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल (इञ्जा)ले नेपालमा पत्रकारिताको अध्यापन थालनी गराउने लालध्वज देउसा राईलाई ५१ हजार १ सय ११ रुपिंया राशीको ‘पत्रकारिता दीर्घसेवा पुरस्कार’ प्रदान गर्ने भएको छ ।

भारतको कलकत्ता विश्वविद्यालयबाट पत्रकारिता विषयमा उच्च शिक्षा हासिल गरेपछि विसं २०२२ मा नेपाल प्रवेश गरी पत्रकारिता गर्ने क्रममा वि. सं. २०३३ सालदेखि उहांले त्रिभुवन विश्वविद्यालयअन्तर्गत रत्नराज्यलक्ष्मी क्याम्पसमा पहिलोपटक पत्रकारिता अध्यापनको थालनी गराउनुभयो ।

झण्डै आधा शताब्दी अनवरत रूपमा पत्रकारिता विषयको प्राध्यापनमा संलग्न रहँदै आउनुभएका पत्रकारिताका गुरु राईले ‘प्राध्यापकले कहिल्यै पनि अवकाश लिँदैनन’ भन्ने उक्तिलाई चरितार्थ गर्नुभएको छ । ‘हातखुट्टा लागेसम्म र दक्षिणाका रूपमा बसभाडा पाएसम्म पढाउन जान छोड्दिनँ’ भन्ने उहांको दृढ अठोटबाट हजारौँ विद्यार्थी र अध्यापकहरूलाई प्रेरणा मिलेको छ । नेपाली पत्रकारिताको इतिहासमा एउटा कोशेढुंगा वन्नुभएका राईलाई पुरस्कृत गर्न पाउंदा इञ्जाले गौरव महसुस गरेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया