भारतमा कोरोना संक्रमित बढेपछि नेपाल–भारत सीमामा फेरि सतर्कता

भारतका केही स्थानमा कोरोनाभाइरस फेरि उच्च फैलिन थालेपछि प्रतिबन्धहरू लगाउन थालिएको छ भारतमा कोरोनाभाइरस सङ्क्रमण फेरि बढ्न थालेपछि त्यहाँ काम गर्न गएका नेपालीहरू घर फर्किन सक्ने आँकलन गर्दै नेपाल–भारत सीमाक्षेत्रमा विभिन्न योजना अगाडि सारिएको नेपाली अधिकारीहरूले बताएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत रहेको इपिडिमियोलोजी तथा रोगनियन्त्रण महाशाखाका अनुसार अहिले १३ वटा नाकामा रहेका हेल्थ डेस्कलाई सक्रिय पारिएको छ । कोभिडसँग मिल्दोजुल्दो लक्षण देखिएका मानिसलाई एन्टिजन परीक्षण गरेर मात्रै घर जान दिइने सरकारको योजना छ ।

गत वर्ष पनि भारतबाट फर्किएका व्यक्तिले सङ्क्रमण गाउँगाउँसम्म फैलाएको भन्दै सरकारले सबैलाई होम क्वारन्टीनमा बस्न आग्रह गरिने बताइएको छ । नेपालमा अहिले पुष्टि हुने सङ्क्रमणको सङ्ख्या १०० को हाराहारीमा छ भने भारतमा दैनिक हजरौं मानिसमा कोभिड देखिएको छ । कोभिड नियन्त्रणका लागि भारतका केही स्थानमा फेरि प्रतिबन्धहरू लगाइएको छ।

फेसबुकबाट तपाइको प्रतिक्रिया