बाढीले अस्ट्रेलियाको सिड्नी बढी प्रभावित, अझै वर्षा हुन सक्ने चेतावनी

पाँच दशकपछि आएको ठूलो बाढीका कारण पश्चिमी सिड्नीबारे ठूलो चिन्ता भएको अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले बताएका छन् । न्यू साउथ वेल्सका केही स्थानमा एक मिटरसम्म वर्षा भएको र त्यसले गर्दा आएको बाढीले सयौँ घर बगाएको छ ।

सडकहरू पनि अवरुद्ध भएका छन् । मोरिसनले अझ धेरै वर्षा हुन सक्ने र जोखिमका दिन आउन सक्ने बताउँदै सङ्कटकाल केवल समुद्र किनारको घटना नभएको बताएका छन् ।

उनले सिड्नीको सबैभन्दा ठूलो बाँधबाट अर्को सातासम्म पनि पानी बहने र त्यसले उच्च जनसङ्ख्या भएको क्षेत्रलाई खतरामा राख्ने बताएका छन् । त्यहाँ अहिलेसम्म वर्षा र बाढीका कारण कसैको मृत्यु भएको छैन, तर हजारौँ मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको र उद्धारका लागि सेना परिचालन गरिएको छ । गत सातादेखि भइरहेको ठूलो वर्षा बुधवारदेखि कम हुने बताइएको छ। तर बाढीको जोखिम कायम रहनेछ।

फेसबुकबाट तपाइको प्रतिक्रिया