विश्वमा कोरोना सङ्क्रमणको दर बढ्दै,संक्रमितको संख्या १२ करोड ५४ लाख नाघ्यो

विश्वमा पछिल्ला दिनहरुमा कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा बढ्न थालेको छ । कोरोनाको दोस्रो र तेस्रो लहर सुरु भएका विभिन्न देशमा लकडाउन, कर्फ्युलगायत कडाइका कदमहरु चालिएका छन् ।

विश्वमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या २७ लाख ५६ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १० हजार ४ सय भन्दाबढीको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या २७ लाख ५६ हजार ६० पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा ५ लाख ८३ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १२ करोड ५४ लाख १५ हजार ८६५ पुगेको छ । हालसम्म विश्वमा १० करोड १२ लाख ८१ हजार भन्दा बढी मानिसले कोरोना भाइरसको संक्रमणलाई जितेका छन् । संक्रमितमध्ये २ करोड १३ लाख ७८ हजार २७८ जना सक्रिय संक्रिमत रहेका छन् भने ९१ हजार ६ सय जनाको अवस्था गम्भीर रहेको छ ।

कोरोनाले सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा ५ लाख ५८ हजार ४४२ जनाको मृत्यु भएको छ भने ३ करोड ७ लाख ४ हजार भन्दा बढी संक्रमित भएका छन् । ब्राजिलमा पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै सङ्क्रमित थपिएका छन् । ब्राजिलमा पछिल्लो २४ घण्टामा ८२ हजार ८१८ जना सङ्क्रमित थपिएका छन् । योसँगै ब्राजिलमा सङ्क्रमितको सङ्ख्या १ करोड २२ लाख १९ हजारभन्दा धेरैे भएको छ । यस्तै ब्राजिलमा पछिल्लो २४ घण्टामा मात्रै एक हजार ८ सय ३२ जनाको ज्यान गएको छ । योसँगै ब्राजिलमा ज्यान गुमाउने कोरोना सङ्क्रमितको सङ्ख्या ३ लाख ६ सय ७५ भन्दा धेरै भएको छ ।

छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टामा ५३ हजार ४ सय १९ भन्दा धेरै कोरोना सङ्क्रमित थपिएका छन् । योसँगै जम्मा कोरोना सङ्क्रमितको सङ्ख्या १ करोड १७ लाख नाघेको छ । भारतमा पछिल्लो २४ घण्टामा २४९ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या १ लाख ६० हजार ६ सय नाघेको छ ।

पछिल्ला केही दिनयता अमेरिका, ब्राजिल, भारत, टर्की, इटली, जर्मनी, पोल्याण्डलगायत देशहरुमा कोरोना सङ्क्रमणको दर अस्वाभाविक रुपमा बढिरहेको छ । यी देशहरुमा कोरोनाको दोस्रो र तेस्रो लहर सुरु भइसकेको छ । कोरोनाविरुद्धको खोप लगाउन सुरु भए पनि यी देशहरुमा भने कोरोना सङ्क्रमणको दर उच्च भएको हो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया