एशिया र युरोप जोड्ने जलमार्ग विशाल पानीजहाजका कारण अवरुद्ध

फुटबल मैदानजत्रो विशाल मालवाहक पानीजहाज इजिप्टको सूइज नहरमा तेर्सो परेर अड्किएपछि संसारको व्यस्त व्यापारिक जलमार्ग अवरुद्ध भएको छ । अचानक आएको हावाका कारण छड्के परेको ४०० मिटर लामो जहाजलाई सोझ्याउन कम्तीमा आठबटा डुङ्गाले प्रयास गरिरहेका छन् ।

पानामामा दर्ता एभरग्रीन शिपिङ कम्पनीको एभर गिभन नामक जहाजका कारण दर्जनौँ अरू पानीजहाजहरू अड्किएका छन् । इजिप्टले केही पानीजहाजका लागि पुरानो जलमार्ग खोलेको छ । यो अवरोधले गरेर तेलको मूल्यवृद्धि भएको बताइएको छ । एशिया र युरोपबीच सबैभन्दा छोटो जलमार्ग हुने यो बाटोबाट विश्वको १२ प्रतिशत व्यापार ओहोरदोहोर हुन्छ ।

अड्किएको पानीजहाज सन् २०१८ मा बनेको र त्यो दुई लाख टनको रहेको बताइएको छ । झन्डै ५९ मिटर चौडाइको उक्त जहाजले नहर पूरै ढाकेको छ । विज्ञहरूले सो जहाज हटाउन केही दिन लाग्न सक्ने बताएका छन्। समाचारसंस्था रोएटर्सका अनुसार यसका कारण कम्तीमा ३३ पानीजहाज अड्किएका छन् । सूइज नहरबाट सन् २०२० मा मात्रै १९,००० पानीजहाज ओहोरदोहोर गरेका थिए । सो नहर १९३ किलोमिटर लामो छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया