उत्तर कोरियाले भर्खरै परीक्षण गरिएका क्षेप्यास्त्रहरू नयाँ किसिमका युद्धकौशलीय क्षेप्यास्त्र भएको दाबी गरेको छ । परीक्षणपछि उत्तर कोरियाले पहिलो पटक त्यसबारे टिप्पणी गरेको हो ।
प्योङ्याङले झन्डै एक वर्षपछि बलिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको भए पनि अमेरिकामा जो बाइडनले राष्ट्रपतीय कार्यभार सम्हालेपछि बिहीवारको परीक्षण पहिलो हो । अमेरिका, जापान र दक्षिण कोरियाले अहिलेको परीक्षणको निन्दा गरेका छन् । संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्तावअन्तर्गत प्योङ्याङलाई बलिस्टिक क्षेप्यास्त्र परीक्षण गर्न प्रतिबन्ध लागेको छ ।
अमेरिकी विदेश मन्त्रालयका एक प्रवक्ताले, ‘यी प्रक्षेपणहरूले राष्ट्रसङ्घीय सुरक्षा परिषद्का धेरै प्रस्तावहरू उल्लङ्घन गर्छन् तथा क्षेत्रीय र विस्तृत अन्तर्राष्ट्रिय समुदायलाई त्रसित बनाउँछन्।’
उत्तर कोरियाले शुक्रवार प्रकाशित गरेको विज्ञप्तिमा आफूले प्रक्षेपण गरेका दुईवटा क्षेप्यास्त्रले पूर्वी तटभन्दा ६०० किलोमिटर पर अवस्थित लक्ष्य भेदन गरेको दाबी गरेको छ । तर जापानले ती क्षेप्यास्त्र केवल ४०० किलोमिटर पर पुगेको अनुमान गरेको थियो ।
‘यो अस्त्र प्रणालीको विकास देशको सैन्य शक्ति सुदृढ गर्न तथा सबै किसिमका सैन्य त्रास रोक्न निकै महत्वपूर्ण छ,’ परीक्षणको नेतृत्व गरेका वरिष्ठ नेता रि प्योङ–चललाई उदृत गर्दै विज्ञप्तिमा भनिएको छ । परीक्षणका बेला उत्तर कोरियाली नेता किम जङ–अन उपस्थित थिएनन् ।
नयाँ क्षेप्यास्त्रको अग्रभागमा अढाई टन भार राख्न सकिने र त्यसलाई आणविक युद्धशीर्षका रूपमा प्रयोग गर्न सकिने प्योङ्याङको दाबी छ । उत्तर कोरियाले प्रक्षेपण गरेको क्षेप्यास्त्र कस्तो किसिमको हो भन्ने स्पष्ट भइसकेको छैन।
तर डोनल्ड ट्रम्प अमेरिकाका राष्ट्रपति हुँदा निसस्त्रीकरणबारे सुरु भएको वार्ता रोकिएपछि प्योङ्याङको अस्त्र कार्यक्रममा प्रगति भएको देखिन्छ । विश्लेषकहरूका अनुसार यी क्षेप्यास्त्रहरू गत अक्टोबर महिनामा प्योङ्याङमा आयोजित सैन्य परेडमा सार्वजनिक गरिएका थिए ।
यदि त्यसो हो भने यी क्षेप्यास्त्रहरू पहिला परीक्षण गरिएको तर निकै ठूलो युद्धशीर्षयुक्त केएन–२३ को परिमार्जित रूप भएको जेम्स मार्टिन सेन्टर फोर ननप्रोलिफरेशन स्टडीजका जेफ्री लूइसले रोएटर्सलाई बताए । एमआईटीमा रक्षा अध्ययनका प्राध्यापक विपिन नारङ्गका अनुसार त्यस्तो किसिमको नयाँ क्षेप्यास्त्रले उत्तर कोरियालाई आफ्ना रकेटमा गह्रुङ्गो आणविक युद्धशीर्ष राख्न सक्षम बनाउनेछ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया