जसपाको उपेन्द्र पक्षको निर्णय : ओली सरकारमा सहभागी हुने सदस्य स्वतः निष्कासित

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको उपेन्द्र यादव पक्षले ले पार्टीका कुनै पनि सदस्य ओली सरकारमा सहभागी भएमा पार्टीबाटै निष्कासन गर्ने निर्णय गरेको छ।आइतबार पार्टीका प्रचारप्रसार विभाग प्रमुख डम्बर खतिवडाद्वारा जारी विज्ञप्तिमा प्रतिगमनकारी ओली सरकारमा सहभागी हुने कुनै पनि सदस्यलाई पार्टीबाट स्वतः निष्कासन हुने प्रष्ट पारिएको भनिएको छ ।विज्ञप्तिमा भनिएको छ, ‘प्रतिगमनकारी ओली सरकारमा कुनै पनि सदस्य सामेल भएमा पार्टीबाट स्वतः निष्कासित हुने प्रष्ट गरिएको छ । पार्टी विरोधी गतिविधिमा संलग्नताबारे आवश्यक सूचना संकलन गर्ने र यथोचित कारवाही प्रकृया अगाडि बढाउने निर्णय गरिएको छ ।’पार्टीको आइतबार बसेको कार्यकारिणी समितिको बैठकले जसपाको नीति, सिद्धान्त, विचार, एजेण्डा, विधान र कार्यदिशा विपरीत महन्थ ठाकुर पक्षहरु हिँडेको स्पष्टीकरण सोध्ने निर्णय पनि गरिएको छ । पार्टीको हितपरीत कार्य गर्दै गराउँदै हिँड्ने नेताहरुमा महन्थ ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ला रहेका छन् । उनीहरुलाई पार्टी विधान र नियमावली बमोजिम स्पष्टीकरण सोध्ने निर्णय समेत गरिएको विज्ञप्तिमा उल्लेख छ ।यसैगरी बैठकले पार्टीको बैठक बोलाउने र निर्णय प्रमाणित गर्नेलगायतका अधिकार कार्यकारी अध्यक्ष उपेन्द्र यादवलाई दिने निर्णय समेत गरेको विज्ञप्तिमा उल्लेख छ । कार्यकारिणी समितिले पार्टी संसदीय दलको विधान अनुमोदन नगरेको हुँदा कुनै अमूक व्यक्ति संसदीय दलको नेता भएको अफवाह विल्कुलै झुठो रहेको उल्लेख गर्दै लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल सदस्य हुने गरी कुनै कार्यदल पार्टीमा नबनाइएको समेत विज्ञप्तिमार्फत भनिएको छ ।

जेठ ७ गते मध्यरातमा महन्थ ठाकुरले राष्ट्रपतिको कार्यालयमा जनता समाजवादी पार्टीको नामबाट दर्ता गराएको भनिएको पत्र फर्जी भएको भनिएको छ । साथै त्यसको कुनै कानुनी तथा वैधानिक हैसियत नहुने समेत बैठकले निर्णय गरेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया