काठमाडौंमा उपत्यकामा एक साता थापियो निषेधाज्ञा,किराना पसल पनि खोल्न नपाइने

काठमाडौँ । काठमाडौं उपत्यकामा निषेधाज्ञाको अवधि एक साता थपिएको छ । मंगलबार बसेको उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जेठ २० गते राति १२ बजेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । यो अवधिमा खाद्यान्न पसल पनि बन्द गर्ने निर्णय गरेको छ । तरकारी पसलका हकमा भने बिहान ९ बजेसम्म पसल खोल्न पाइने छ ।

विकास निर्माणसँग सम्बन्धित सबै सवारी साधनलाई सञ्चालनमा रोक लगाइएको छ । मृत्यु संस्कार, विवाह लगायतका सवारी साधनलाई भने तोकिएका मापदण्डभित्र रहेर अनुमति दिइनेछ । विवाहका लागि एउटा सवारी साधनमात्रै अनुमति दिइने र त्यसमा अधिकतम ७ जनालाई मात्र यात्र अनुमति दिइने छ । विवाहमा ७ जना मात्र जम्मा हुन पाउने भनिएको छ ।
साथै, हालसम्म प्रशासन र अन्य निकायबाट जारी सबै पास पनि खारेज गर्ने निर्णय भएको छ । दोस्रो लहरको कोरोना संक्रमण बढेको भन्दै उपत्यकामा वैशाख १६ देखि २२ वैशाखसम्म पहिलो पटक निषेधाज्ञा लगाएको थियो । त्यसपछि २२ देखि २९ वैशाख र २९ देखि १३ जेठसम्मका लागि निषेधको आदेश जारी भएको थियो ।

अब लागू हुने निषेधाज्ञाको पालना नगर्नेलाई कारबाही गर्ने गरिने भएको छ । हालै जारी कोभिड–१९ अध्यादेशअनुसार उल्लंघन गर्नेलाई कारबाही गर्ने पनि निर्णय भएको छ । अध्यादेशमा अनुमतिविना वा बिरामी ओसारपसार गर्ने प्रायोजनबाहेक सवारीसाधन चलाउनेलाई कारबाही गर्नसक्ने व्यवस्था छ । त्यस्तो अवस्थामा दुईपांग्रेलाई दुई हजार र अन्य सवारीसाधनलाई ५ हजार रुपैयाँ जरिवाना तिराउन सक्ने व्यवस्था छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया