एनआरएनएले नेपालको सात वटै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ(एनआरएनए)ले नेपालका सात वटै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय गरेको छ । अध्यक्ष कुमार पन्तका अध्यक्षतामा आइतबार बसेको सङ्घका राष्ट्रिय समिति, पदाधिकारी, केन्द्रीय पार्षद्को संयुक्त बैठकले सो निर्णय गरेको हो ।
यस्तै तीव्ररूपमा नेपालमा फैलिरहेको कोरोना संक्रमणलाई नियन्त्रण गर्नका लागि खोप नै अन्तिम विकल्प भएकाले तत्काल अन्तरर्राष्ट्रिय समुदायसँग खोप उपलब्ध गराइदिन अपिल गर्ने निर्णय गरिएको छ । त्यसका लागि सङ्घका राष्ट्रिय समितिमार्फत सम्बन्धित देशका सरकारसमक्ष नेपालका लागि खोप उपलब्ध गराउन पहल गरिनेछ ।

त्यस्तै पछिल्लो समय नेपालबाट भारतीयलगायत अन्य देशका नागरिकले अन्तरर्राैष्ट्रिय यात्राका लागि सुविधा पाए पनि नेपाली भने समस्यामा परेको गुनासो सुनिएकाले यात्रामा नेपालीलाई पहिलो प्राथमिकतामा राख्न सङ्घले अनुरोध गरेको छ । विदेशबाट नेपाल फर्कदा नेपाली दूतावासबाट अनुमति लिनुपर्नेलगायतका विषयमा विद्यमान झन्झटिला प्रावधान हटाई यात्रा सहजीकरण गरिदिनसमेत सरकारसँग अनुरोध गरिएको छ ।

सङ्घले माग गर्दै आएको गैरआवासीय नेपाली नागरिकताका विषयमा अध्यादेश मौन देखिएकाले गैरआवासीय नेपालीको माग सम्बोधनका लागि सङ्घले नेपाल सरकारलाई अनुरोध गरेको छ ।
विश्वव्यापीरुपमा फैलिएको कारोनाभाइरसका कारण गत दुई सातामा विदेशमा थप ४१ नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का अनुसार भारतमा २९, कतारमा ८, फ्रान्समा १, माल्दिम्समा १, बेल्जियममा १ र प्रोर्चुगलमा १ जना नेपालीको कोरोनाभाइरसका कारणले ज्यान गएको सङ्घअन्तर्गत कोभिड-१९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए ।

सङ्घले सङ्कलन गरेको तथ्याङ्कअनुसार भारतसहित विश्वभर २८ मुलुकमा रहेका ४२३ जना नेपालीको कोभिड-१९ का कारणले निधन भएको छ । सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार हालसम्म ५४ देशमा एक लाख सात हजार ८६ नेपालीमा कोरोना संक्रमण देखिएको छ भने तीमध्ये ९९ हजार २५७ जना कोरोनामुक्त भएका छन् ।

समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार सोमबार साँझसम्म विदेशमा कोरोना संक्रमणबाट ९२ प्रतिशत नेपाली मुक्त भएका छन् । सङ्घले विगत कोरोनाभाइरसको महामारी शुरु भएदेखि विदेशस्थित नेपाली समुदाय, विदेशमा कार्यरत नेपाली चिकित्सक, नेपाली नियोग, सङ्घसंस्था र सङ्घका शाखाद्वारा प्राप्त सूचनाका आधारमा तथ्याङ्क सङ्कलन गर्दै आएको छ । सङ्घले डा. सापकोटाको संयोजकत्वमा डा. सागर पौडेल (भारत), डा. नितेश शर्मा (मध्यपूर्व), डा. बोधराज सुवेदी (युरोप), डा. रुपक श्री (माल्दिभ्स)लगायत विश्वभर २०० चिकित्सक परिचालन गरेको छ ।

यसैबीच नेपालमा हालसम्म पाँच लाख २० हजार ४६१ जना संक्रमित पुगेकोमा ७६ दशमलव ६ प्रतिशत अर्थात् तीन लाख ९८ हजार ४८३ जना संक्रमणमुक्त भएका छन् । संक्रमणका कारण सोमबार साँझसम्म ६ हजार ५३१ जनाको निधन भएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया