मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली इराकमा

काठमाडौं । मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली इराक पुगेको छ। नेपालले शनिबार एसियन कप जितिसकेको इराकसँग खेल्नेछ। त्यसपछि नेपाल विश्वकप छनोटको बाँकी तीन खेल खेल्न कुवेत जानेछ।नेपाली टोली स्थानीय समयअनुसार बिहान सवा १० बजे इराकको बास्रा पुगेको हो । नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले इराकसँगको खेलबाट फाइदा लिने बताए ।‘हामी इराकको मैत्रीपूर्ण खेलबाट फाइदा लिने आशा गर्दछौं । यहाँको वातावरणले पनि हामीलाई सहयोग पु¥याउँछ । हामीले विश्वकप छनोट खेल्ने कुवेत सिटी र यहाँको वातावरण उस्तै छ,’ अलमुताइरीले बास्रा पुगेपछि भने ।

नेपालले बुधबार बेलुका प्रशिक्षण गर्ने इराक फुटबल संघले जनाएको छ ।नेपालले २० वर्षपछि इराकसँग फुटबल खेल्न लागेको हो । यसअघि नेपालले इराकसँग तीन खेल खेल्दा तीनै पटक पराजित भएको थियो । दुवै टोली विश्वकप छनोटको तयारीमा रहेकाले यो मैत्रीपूर्ण खेलले सहयोग गर्ने अपेक्षा छ ।
छनोटको समूह बी मा रहेको नेपालले जेठ २० गते चाइनिज ताइपेई, जेठ २४ गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासँग खेल्नेछ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया