बजेट कार्यान्वयन हुनेमा शंका नगरौं : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट कार्यान्यन हुनेमा शंका नगर्न आग्रह गरेका छन् । आगामी आर्थिक बर्ष २०७८ /७९ का लागि सरकारले ल्याएको अनुमानित आय व्यय बजेटका सम्बन्धमा आइतबार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेल कार्यान्वयन गर्ने योजना, प्रतिवद्धता र संकल्पका साथ बजेट आएको स्पष्ट पारेका हुन् । उनले यो बजेट केबल सुनाउनका लागि मात्र नभई कार्यान्वयन गर्नका लागि ल्याइएको बताए ।

उनले बजेट कोभिड महामारीको नियन्त्रण रोकथाम र उपचारमा नै केन्द्रित गरिएको र कोभिड १९ संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि प्रस्तुत गरिएका योजना कार्यक्रम कार्यान्वयन गर्ने बताए ।

अर्थमन्त्री पौडेलले अर्थतन्त्रलाई पुरानै लयमा फर्काउने विषयमा बजेट केन्द्रित भएको र ती समस्या समाधानका लागि स्पष्ट योजना र दृष्टिकोणका साथ प्रस्तुत भएको दाबी गरे । आर्थिक क्षेत्रमा देखिएका चुनौतिको सामना गर्दै अर्थतन्त्रलाई पुरानै लयमा फर्काएर अर्थतन्त्र चलायमान बनाउदै सम्मृद्धिको सपना साकार पार्ने प्रतिवद्धता पनि उनले जनाए । उनले भने, ‘यो सरकारले बजेट कार्यान्वयन गर्छ । यसमा दुविधा राख्नुपर्ने छैन ।’

उनले सरकारले निर्वाचनका लागि आवश्यक बजेट विनियोजन गरेको र स्वतन्त्र निष्पक्ष ढंगले निर्वाचन सम्पन्न गर्न सम्पूर्ण सामथ्र्य परिचालन गरिने बताए ।

सरकारले महामारी नबिर्सिएको र मुख्य चुनौतिको रुपमा स्वीकार गरेर सोही अनुरुप राजश्वका नीति र कार्यक्रमका साथमा बजेट आएको बताए । सरकारले प्रभावकारी पहलकदमीको साथमा नेपाली जनतालाई समयमै खोप उपलब्ध गरायो भनेर समाचार र सम्पादकीय लेख्ने ढंगले सरकारले काम गर्ने प्रतिवद्धता जनाए ।

उनले खोप लगाएपछि अर्थतन्त्र चलायमान हुने र पुरानै लयमा फर्किने विश्वासका साथ राजश्वको लक्ष्यहरु निर्धारण गरिएको स्पष्ट पारे । उनले सरकारले मतदाता प्रभावित पार्न नभई अभिभारा पूरा गर्न बजेट ल्याएको बताए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया