अमेरिकाको युनाइटेड वायुसेवाले १५ वटा सुपरसोनिक विमान किन्ने योजना रहेको भन्दै सन् २०२९ मा हवाई उडानमा आवाजभन्दा छिटो गति फर्काउने घोषणा गरेको छ । सन् २००३ मा ब्रिटिश वायुसेवा र एयर फ्रान्सले कन्कर्ड विमान उडाउन छोडेपछि सुपरसोनिक हवाई यात्रा टुङ्गिएको थियो ।
युनाइटेडले किन्ने भनेको ओभरटर विमान अमेरिकाको बुम नामक कम्पनीले निर्माण गर्ने छ । बुमले अहिलेसम्म विमानको परीक्षण उडान गरेको छैन । युनाइटेडको किन्ने सहमति सो विमानले सुरक्षासम्बन्धी मापदण्ड पूरा गरेको अवस्थामा मात्रै लागु हुन्छ । विमानको गति आवाजको गतिभन्दा छिटो भएमा त्यसलाई सुपरसोनिक उडान भनिन्छ ।
यसको अर्थ ६० हजार फिटको उचाइमा १,०६० किलोमिटर प्रतिघण्टाभन्दा छिटो यात्रा गर्नु हो । सामान्यतया विमानहरू सो उचाइमा ९०० किलोमिटर प्रतिघण्टाको गतिमा उड्छन् तर बुमको जहाज १,१२२ किलोमिटर प्रतिघण्टा उड्ने अपेक्षा गरिएको छ । त्यो गतिमा न्यूयोर्कबाट लन्डनसम्मको उडान समय आधा घट्ने बताइएको छ ।
बुमका अनुसार त्यो उडानको समय ३.५ घण्टा हुनेछ जुन अहिलेको उडान समयभन्दा तीन घण्टा कम हो । सन् १९७६ मा उड्न सुरु गरेको कन्कर्डको गति त्योभन्दा बढी अर्थात् २,१८० किलोमिटर प्रतिघण्टा थियो । कन्कर्ड विमान सन् २००३ देखि सञ्चालनमा छैन । सुपरसोनिक उडानका दुई प्रमुख चुनौती भनेका आवाज र प्रदूषण हो ।
आवाजभन्दा छिटो गतिमा उड्दा जमिनमा सोनिक बुम भनिने ठूलो विस्फोटको जस्तो आवाज सुनिन्छ । कम्पनीको नाम त्यसकै आधारमा राखिएको हो । यस कारण ती विमान सबै क्षेत्रमा उड्न सक्दैनन्।
सामान्यतया ती विमानले जमिनमाथि रहँदा मानिसहरूलाई ध्यानमा राखी कम गतिमा उड्नु पर्छ । बुमले आफ्नो विमान उडान सुरु गर्दा, अवतरण गर्दा र जमिनमाथि हुँदा अन्य विमानभन्दा ठूलो आवाज ननिकाल्ने बताएको छ । उसले कन्कर्डको भन्दा मधुरो सोनिक बुमका लागि प्रयास गरिरहेको बताएको छ । अर्को ठूलो समस्या भनेको इन्धन आवश्यकता हो।
‘सुपरसोनिक गतिमा जान धेरै ऊर्जा चाहिन्छ, त्यसका लागि धेरै इन्धन चाहिन्छ,’ बुमकी प्रमुख व्यावसायिक अधिकृत क्याथी साभिटले भनिन् । तर उनले ओभरटर शून्य कार्बन विमान हुने अपेक्षा गरिन् । बुमले आफ्नो विमान वातावरणमैत्री इन्धन प्रयोग गर्ने बताएको छ ।
जुन इन्धन कि त जनावरको खेर जाने बोसोबाट बन्न सक्छ कि विशेष रूपमा उत्पादन गरिएको ऊर्जावान् बालीबाट आउने क्रानफील्ड विश्वविद्यालयका डा. गाय ग्राटनले बताउँछन् । तर उनका अनुसार अहिले त्यस्तो इन्धनको उत्पादन यथेष्ट मात्रामा भइरहेको छैन । बुमले हावाबाट तरल ऊर्जा निर्माण गर्ने जस्ता प्रविधिले अपुग इन्धन आपूर्ति गर्न सक्ने बताउँछ ।
अन्यधिक लगानी गरेर ५० वर्षअघि विकास गरिएको कन्कर्ड विमान ब्रिटिश वायुसेवाको लागि सञ्चालनका अन्तिम वर्षहरूमा नाफामूलक रहेको बताइन्छ । कन्कर्डको यात्रा विलासी मानिन्थ्यो किनभने यसको यात्रा अन्य विमानमा भन्दा दुई गुणा महँगो थियो ।
अहिले भने धनाढ्यहरू निजी विमानमा यात्रा गर्न मन पराउने डा. ग्राटनको भनाइ छ । उनका अनुसार व्यावसायिक उडानको प्रथम श्रेणीमा उड्नुभन्दा साना निजी विमान भाडामा लिएर यात्रा गर्दा आफूले चाहेको विमानस्थलमा नकुरी यात्रा गर्न सकिने भएकोले पैसा हुनेका लागि त्यो सहज छ ।
बुमको अध्ययनले मानिसहरू छिटो गतिमा यात्रा गर्न चाहन्छन् र कन्कर्डको तुलनामा नियमित दरमै टिकट बेचे पनि ओभरटर नाफामूलक हुने बताइएको छ । टिकटको दर युनाइटेडले निश्चित गर्ने छ तर उसले अवश्य पनि प्रतिविमानका लागि तिर्ने २० करोड डलरबाट नाफा नै खोज्ने छ।

फेसबुकबाट तपाइको प्रतिक्रिया