इजरायलको संसद्ले नयाँ नेता निर्वाचित गरेपछि १२ वर्ष सत्तामा रहेका बेन्जामिन नेतान्याहुले प्रधानमन्त्री पद गुमाएका छन् । दक्षिणपन्थी राष्ट्रवादी नाफ्ताली बेनेटले परिवर्तनको सरकार को नेतृत्व गर्दै शपथ ग्रहण गरेका छन् ।
अत्यन्तै साँघुरो ६०–५९ बहुमतका आधारमा अभूतपूर्व गठबन्धनको नेतृत्व गर्दै बेनेट संसद्बाट प्रधानमन्त्री चुनिएका हुन् । सत्ता समीकरणसम्बन्धी सम्झौताका अनुसार उनी सन् २०२३ को सेप्टेम्बर महिनासम्म प्रधानमन्त्री रहने छन् । त्यसपछि उनले येश अटिड पार्टीका नेता याएर लापिडलाई अर्को दुई वर्षका लागि प्रधानमन्त्री पद हस्तान्तरण गर्नेछन् ।
नेतान्याहु इजरेलका हालसम्मकै सर्वाधिक लामो समय सत्तामा रहेका नेता हुन् । इजरायलको राजनीतिमा वर्षौंसम्म वर्चस्व कायम राखेका उनी दक्षिणपन्थी लिकुड पार्टीको प्रमुख तथा विपक्षी दलको नेता रहने छन् ।
संसद्मा भएको छलफलमा बोल्दै नेतान्याहुले भने, ‘हामी फेरि फर्किने छौं।’ मतदान सकिएपछि बेनेटतर्फ हिँडेर गएका उनले प्रधानमन्त्री निर्वाचित उनीसँग हात मिलाएका थिए । तर प्यालेस्टिनीहरूका प्रतिनिधिले इजरायलको नयाँ सरकारलाई खासै चासो नदिने किसिमको प्रतिक्रिया जनाएका छन् ।
गाजामा नियन्त्रण जमाएको हमास समूहका प्रवक्ताले इजरेललाई एउटा उपनिवेशवादी निकाय भन्दै बलको प्रयोग गरी प्रतिरोध गरेर आफ्नो अधिकारहरू फिर्ता लिनुपर्ने बताए । अमेरिकी राष्ट्रपति जो बाइडनले बेनेटलाई बधाई सन्देश पठाउँदै आफूले उनीसँग काम गर्न चाहेको बताएका छन् । नेतान्याहुले पाँचवटा कार्यकाल शासन गरेका छन्।
सबैभन्दा सुरुमा सन् १९९६ देखि १९९९ सम्म सत्ता सम्हालेका उनी सन् २००९ देखि २०२१ सम्म निरन्तर शक्तिमा छन् । सन् २०१९ को अप्रिलमा उनले चुनाव घोषणा गरेका थिए ।
तर त्यसमा उनी नयाँ गठबन्धन निर्माण गर्ने गरी पर्याप्त मत पाउन विफल भएका थिए। त्यसपछि गरिएका दुईवटा चुनाव पनि निष्कर्षमा पुग्न सकेनन् । तेस्रो चुनावपछि उनले तत्कालीन विपक्षी नेता बेनी गान्त्ससँग मिलेर राष्ट्रिय सहमतिको सरकार बनाए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया