अमेरिकाको हवाईमा बोइङ ७३७ कार्गो जेट विमान समुन्द्रमा खसेर दुर्घटना, पाइलटको उद्दार

दुईजना पाइलट सवार बोइङ ७३७ कार्गो विमान इन्जिनमा समस्या उत्पन्न भएपछि अमेरिकाको हवाईस्थित समुन्द्री तटनजिकै झरेको छ ।

उक्त विमान होनोलुलुबाट माउइ टापुतर्फ गइरहेको थियो तर ड्यानियल के इनोए अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको केहीबेरमै पानीमा खसेको थियो । तटरक्षक सुरक्षा फौजले स्थानीय समयअनुसार शुक्रवार बिहानै दुवै पाइलटलाई उद्धार गरेका थिए । रोयटर्स समाचार संस्थाले जनाए अनुसार एकजना पाइलट जहाजको पुच्छर समातेर पानीमा तैरिरहेका थिए ।

यातायात मन्त्रालयका अधिकारीहरूलाई उद्धृत गर्दै हवाई न्यूज नाउले ती पाइलटलाई क्वीन्स मेडिकल सेन्टरमा पुर्याएर सघन उपचार कक्षमा राखिएको जनाएको छ।

टाउकोमा गम्भीर चोट लागेका अर्का पाइलटलाई डुङ्गामा राखेर समुन्द्र बाहिर निकालिएको बताइएको छ । एनबीसीले प्रसारण गरेको दृश्यमा ती पाइलटमध्ये एक ठानिएका व्यक्तिलाई ह्वीलचेअरमा राखेर लगिँदै थियो। उनी होसमा रहेको जस्तो देखिन्थ्यो । ती पाइलटले आफूहरू समस्यामा परेको थाहा पाएका थिए ।

अमेरिकी मिडियाले बोइङको विज्ञप्ति छाप्दै कम्पनी अधिकारीहरूको सम्पर्कमा रहेको र अवस्थालाई नजिकबाट हेरिरहेको भनेका छन् । द फेडरल एभियशन एडमिनिस्ट्रेशन र न्याशनल ट्रान्सपोर्टेशन सेफ्टी बोर्डले उक्त घटनाको अनुसन्धान गर्ने भएको छ ।

उडानहरूको जानकारी दिने वेबसाइट फ्लाइटरेडार २४ ले ट्वीट गर्दै उक्त जहाज ट्रान्सएअर कम्पनीका लागि सन् २०१४ देखि उडानमा रहेको ७३७–२०० कार्गो विमानका रूपमा काम गर्दै आएको जनाएको छ । ट्रान्सएअर फ्लाइट ८१० काहुलुइतर्फ होनोलुलुबाट उडेको केही बेरमै पानीमा खस्न पुगेको फ्लाइटराडारले जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया