प्रदेश २ का प्रदेश प्रमुखमा हरिशंकर मिश्र नियुक्तिको सिफारिस

जनकपुरधाम । सरकारले पूर्ववर्ती सरकारका विभिन्न निर्णयलाई उल्टाउने क्रममा प्रदेश २ को प्रदेश प्रमुख परिवर्तन गरेको छ ।
सोही क्रममा केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेका प्रदेश प्रमुख राजेश झा अहिराजलाई बर्खास्त गर्दै सरकारले हरिशंकर मिश्रलाई प्रदेश प्रमुख नियुक्तिको सिफारिस गरेको हो ।

हरिशंकर मिश्र प्रदेश २ का चौथो प्रदेश प्रमुख हुन् । नेपाली काँग्रेसका महोत्तरी जिल्लाका नेता पूर्व सांसद मिश्रको जन्म महोत्तरीको पिपरा गाउँपालिकामा २००२ सालमा भएको थियो । ५९ वर्षदेखि राजनीतिमा सक्रिय रहेका मिश्र विपी कोइरालाका समकक्षीसमेत रहेका काँग्रेस नेता रामनारायण मिश्रका छोरा हुन् । रामनारायण मिश्र वीपीले ०१६ सालमा नेतृत्व गरेको सरकारमा उद्योग मन्त्री थिए ।

राजा महेन्द्रले पञ्चायती व्यवस्था लागु गरेपछि रामनारायण मिश्रलाई समेत वीपीसँगै सुन्दरीजल कारागारमा बन्दी बनाएर राखिएको थियो । बुबा जेलमा परेपछि हरिशंकर मिश्रले ०१९ सालबाट राजनीति आरम्भ गरेका हुन् ।

हरिशंकर मिश्रले प्रजातन्त्र दिवसकै अवसरमा आन्दोलनको झण्डा बोकेका थिए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया