अमेरिका । ‘अपराध र सुधार’ विषयक अन्तर्राष्ट्रिय कविता संग्रह प्रकाशित हुने भएको छ ।
विश्वमा देखापरेको आपराधिक गतिविधि र समाधानका विषयलाई कवितामा समेट्न लागिएको हो । मानिसले आफ्नो स्वार्थका लागि अपराधलाई माध्यम बनाउन थालेका छन् ।
यस्तो असामाजिक क्रियाकलापबाट समाजलाई खबरदारी गर्न तथा समाजमा जनचेतना जगाउन र सुधारका विकल्पहरु पहिल्याउन कवितालाई माध्यम बनाउने उदेश्यका साथ म्याडिसन कोठे गोष्ठी, अमेरिका र अनेसासको सहकार्यमा अपराध र सुधार विषयक अन्तर्राष्ट्रिय कविता संग्रह प्रकाशित गर्ने योजना बनाइएको हो ।
उक्त कार्य सम्पन्न गराउन तथा सङ्ग्रह प्रकाशित गर्न ‘अपराध र सुधार विषयक अन्तर्राष्ट्रिय कविता संग्रह प्रकाशन समिति’ गठन भएको छ । कविलाई सन्देशको संवाहक मानिन्छ, जसको सिर्जनाले समाजलाई सचेतमात्र गराउँदैन वास्तविकता पहिल्याउन प्रेरणा पनि दिने गर्दछ ।
यही उदेश्यका साथ यो कविता संग्रह प्रकाशित गर्ने योजना बनाइएको छ । आव्हान गरेर प्राप्त भएका कविताहरुलाई मूल्याङ्कन समितिका माध्यमबाट छनोट गरी संग्रहका रुपमा प्रकाशित गरेर समाजलाई सचेत गराउने र असामाजिक तत्वलाई खबरदारी गर्ने उदेश्यका साथ कविता आव्हान गरिएको छ ।
यसका लागि सर्जकले आफ्ना कविता विश्वका विभिन्न सहरहरुमा स्थापित अनेसासका च्याप्टरहरुमा वा सोझै समितिको ईमेल aparadhsudhar21@gmail.com मा २०२१ अक्टुबर २० सम्ममा बुझाउनु पर्ने छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया