कर्णाली प्रदेश सरकारमा माओवादी केन्द्रले माग्यो चार मन्त्रालय

सुर्खेत । नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश सरकारमा चार मन्त्रालय मागेको छ । बिहीबार बसेको प्रदेश संसदीय दलको बैठकले चार मन्त्रालय अनिवार्य पाउनुपर्ने निर्णय गरेको संदीय दलका प्रमुख सचेतक ठम्मर विष्टले बताए ।

आफूहरु हालको सत्तारुढ गठबन्धनको सबैभन्दा ठूलो दल भएकाले सम्मानजनक सहभागिताका लागि चार मन्त्रालय चाहिने उनको भनाइ छ । ‘गठबन्धनमा हामी सबैभन्दा ठूलो दल हौं, सरकारमा सम्मानजनक सहभागिता खोजेका छौं । आजको दलको बैठकले पनि चार मन्त्रालय पाउनुपर्ने निर्णय गरेको छ,’ विष्टले भने ।

कति मन्त्रालय पाउने भन्ने टुंगो लागिसकेपछि मात्र पार्टीका तर्फबाट मन्त्रीको नाम टुंग्याइने सचेतक विष्टले बताए । ‘गठबन्धनसँग कुन–कुन मन्त्रालय कसले लिने र सरकारमा कसलाई पठाउने भनेर अझै टुंगिएको छैन । अवको एक–दुई दिनमै मन्त्रालयको भागबन्डा टुंगिएर मन्त्रीहरुको नाम छान्छौं ।’

सरकारमा नयाँले मौका पाउने विष्टले बताए । कर्णाली प्रदेशसभामा माओवादीका १२ सांसद छन् । सुर्खेतका ठम्मर विष्ट र विन्दमान विष्ट, जाजरकोटका गणेशप्रसाद सिंह र कृष्णा शाह, डोल्पाका वीरबहादुर शाही र रुकुम पश्चिमका रातो कामी गरी ६ जना मन्त्री बन्न बाँकी छन् ।

आलोपालो सरकार चलाउने गरी वैशाख ३ गतेको सहमतिका आधारमा कांग्रेसका जीवनबहादुर शाही मुख्यमन्त्री भए पनि माओवादी केन्द्र सरकारमा सहभागी भएको छैन मुख्यमन्त्री जीवनबादुर शाहीले शपथ लिएको १५ दिनभन्दा बढी बित्दासम्म एकीकृत समाजवादीका एक जनाबाहेक अन्य मन्त्री नियुक्त गर्न सकेका छैनन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया