काठमाडौं । निर्वाचन आयोगले यही मंसिर १७ गतेदेखि मतदाता नामावली संकलनसम्बन्धी विशेष अभियान सञ्चालन गर्ने जनाएको छ । ७७ वटै निर्वाचन कार्यालय, ७७ जिल्ला प्रशासन कार्यालय र विभिन्न जिल्लाका ४० वटा इलाका प्रशासन कार्यालयबाट हाल भइरहेको मतदाता नामावली संकलन कार्यलाई निरन्तरता दिँदै मंसिर १७ गतेदेखि ती कार्यालय रहेका स्थानीय तह बाहेकका ६३७ वटा स्थानीय तहको केन्द्रमा समेत मतदाता नामावली संकलन हुने आयोगले जनाएको छ ।
आयोगका अनुसार मतदाता नामावली संकलन कार्य हिमाली र पहाडी जिल्लाका स्थानीय तहमा १० दिनसम्म सञ्चालन हुने र तराई, भित्री मधेस तथा काठमाडौं उपत्यकाका स्थानीय तहमा १५ दिनसम्म सञ्चालन हुनेछ ।
मतदाता नामावली संकलन कार्य हरेक जिल्लामा दुई चरणमा सञ्चालन हुने भएकोले सम्बन्धित निर्वाचन कार्यालयबाट प्रकाशित कार्यक्रम हेरी आफ्नो स्थानीय तहमा कार्यक्रम सञ्चालन हुने अवधिको बारेमा जानकारी प्राप्त गर्न सकिने पनि आयोगले जनाएको छ । नामावली संकलन अभियानमा १६ वर्ष उमेर पूरा गरी नेपाली नागरिकता प्राप्त गरेका सबै नागरिकको मतदाता नामावलीको विवरण संकलन हुने पनि आयोगले प्रस्ट पारेको छ ।
रोजगारी वा अध्ययनको सिलसिलामा आफ्नो जिल्ला बाहिर रहेका नागरिकहरूलाई समेत सहज रूपमा मतदाता दर्ता प्रकृयामा सहभागी गराउन मंसिर १७ गतेदेखि निरन्तर रूपमा सबै निर्वाचन कार्यालयबाट अन्य जिल्लामा स्थायी ठेगाना रहेका नागरिकहरूको समेत मतदाता नामावली संकलन गरिने आयोगले जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया