देशलाई संकटबाट बचाउन र जोगाउन ओलीको खाँचो : राप्रपा अध्यक्ष थापा

चितवन । राप्रपा अध्यक्ष कमल थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीको खुलेर प्रशंसा गरेका छन् । चितवनको भरतपुरमा जारी एमालेको दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना मन्तव्य दिँदै थापाले देशलाई संकटबाट बचाउन र जोगाउन ओलीको खाँचो रहेको बताए ।

राप्रपा अध्यक्ष थापाले ओलीको पहलमा नेपालको राष्ट्रियता अघि बढेको बताउँदै तराईको पृथकतावादी शक्तिलाई अन्त्य गरेको र नेपालको गुमेको भूभागसहितको चुच्चे नक्सा प्रकाशन गरी संविधानमा उल्लेख गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गरे । साथै उनले विप्लव र सिके राउतलाई राष्ट्रिय मूल धारमा ल्याएको भन्दै ओलीको प्रशंसा गरे ।

थापाले एमाले कम्युनिष्ट आन्दोलनको एक प्रमुख शक्ति र देशको सबैभन्दा ठूलो राजनीतिक दल भएको बताउँदै यो महाधिवेशनलाई देश विदेशका शक्तिहरुले उत्सुकताका साथ हेरिरहेको उल्लेख गरे ।

अध्यक्ष थापाले २०६३ सालको राजनीतिक परिवर्तन पछि दिगो शान्तिको लक्ष स्थायित्व र समृद्धिको बोकेर राजनीतिक यात्रा सुरु गरेपनि हिजो कहाँ पुग्ने भनेर हिँडेको र आज कहाँ आइपुगेका छौं भन्ने प्रश्नलाई महाधिवेशनका प्रतिनिधिहरुले गम्भीर रुपले समीक्षा गर्ने आशा लिएको बताए ।

थापाले ओलीको प्रशंसा गर्दै भने, ‘केपी ओलीजस्तो दृढ अडान भएको र राष्ट्रवादी सोच भएको नेतृत्व गरेको पार्टीले यो देशलाई संकटबाट जोगाउनका निमित्त ऐतिहासिक योगदान पु¥याउन सक्ने कुरा ब्यक्त गरे ।

फेसबुकबाट तपाइको प्रतिक्रिया