एमालेमा पोलिटब्युरो ब्यूतियो : अब पदाधिकारी १९ सहित केन्द्रीय कमिटी ३०१ बन्ने

चितवन । नेकपा एमालेले पदाधिकारी र सदस्य संख्या थप गरेको छ । केन्द्रीय समितिको अन्तिम बैठकमा सर्वसम्मत नेतृत्व चयनको प्रयासको लागि एमाले अध्यक्ष केपी शर्मा ‌ओलीले बैठकमा प्रस्तुत गरेको पदाधिकारी र सदस्यहरूको संख्या थप्ने प्रस्ताव सर्वसम्मत रुपमा पारित भएको हो ।

विधान महाधिवेशनमार्फत खारेज गरिएको पोलिटब्युरो फर्काइएको छ भने केन्द्रीय कमिटीको आकार बढाएर ३०१ सदस्यीय बनाइएको छ । दशौं महाधिवेशनको उद्घाटन समारोह सकिएपछि सौराहमा बसेको वर्तमान केन्द्रीय सदस्यहरुको बैठकमा ओलीले विधान संशोधनको नयाँ प्रस्ताव ल्याएका थिए ।

उनले दुई उपाध्यक्ष र दुई उपमहासचिव थपेर पदाधिकारी संख्या १९ पुर्‍याउने प्रस्ताव राखे । ४५ सदस्यीय स्थायी कमिटी कायमै राख्ने, ९९ सदस्यीय पोलिटब्यूरो गठन गर्ने र २२५ सदस्यीय केन्द्रीय कमिटीलाई ३०१ बनाउने प्रस्ताव पनि बैठकले अनुमोदन गरेको छ ।

अब एमालेमा १९ पदाधिकारी रहनेछ । जसमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, महासचिव, ३ उपमहासचिव र ७ सचिव छन् । ४५ सदस्यीय स्थायी कमिटी, ९९ सदस्यीय पोलिटब्यूरो र ३०१ सदस्यीय केन्द्रीय कमिटी हुनेछ ।

असोज तेस्रो साता भएको विधान महाधिवेशनले पारित गरेको विधानमा अध्यक्षसहित १५ पदाधिकारी रहने व्यवस्था थियो । १५ सदस्यीय पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष, महासचिव, उपमहासचिव र सात सचिव थिए । पोलिटव्यूरो खारेज गरेर ४५ सदस्यीय स्थायी कमिटी र २२५ सदस्यीय केन्द्रीय कमिटी बनाइएको थियो ।

यबैठकमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका भीम रावललाई उपाध्यक्षमै सहमति गर्न य्रयास गरेका छन् भने वरिष्ठ उपाध्यक्षमा वर्तमान महासचिव ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ र पूर्व माओवादीबाट आएका रामबहादुर थापा बादलको दाबी छ । महासचिवमा उपहासचिव विष्णु पौडेल, सचिव पृथ्वीसुब्बा गुरुङ, स्थायी कमिटी सदस्यद्धय शंकर पोखरेल र सुरेन्द्र पाण्डको दाबी छ ।

केन्द्रीय कमिटीको नयाँ निर्णयले पार्टीमा सहमतिको वातावरण बनाउन मदत गर्ने सचिव योगेश भट्टराईले जानकारी दिए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया