काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पहिलोपटक ठूलो स्तरको चुनावी सभालाई विराटनगरमा सम्बोधन गरे । यसपछि भने देउवाका नियमति जसो सम्बोधनका कार्यक्रम छन् ।
आज नै देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतले सत्ता गठबन्धनले चितवनको भतरपुरमा आयोजित संयुक्त सभालाई सम्बोधन गर्दै छन् ।
भोलि नै काठमाडौंमा गठबन्धनको संयुक्त सभा छ । काठमाडौंको सभाबाट देशभर सन्देश प्रवाह गर्ने तयारी गठबन्धनको छ । त्यस्तै सभा पोखरा महानगरमा २५ गते हुने छ । त्यहाँ पनि गठबन्धनका शीर्ष नेताहरुले सम्बोधन गर्ने भएका छन् ।
३० गते हुने मतदानका लागि २७ गतेसम्म मात्रै प्रचार गर्न पाइने भएकाले समयको चाप पनि उत्तिकै छ । तर, ढिला गरि उम्मेदवार तय गरेका गठबन्धनलाई द्रुुत गतिमा सकेसम्म सबै सभा भ्याउने चटारो छ ।
देशका ६ वटै महानगरमा चुनावी तालमेल गरेको सत्ता गठबन्धनले संयुक्त सभा भने आधा जतिमा मात्रै गर्ने भएको छ । गठबन्धनले काठमाडौं, पोखरा र भरतपुर महानगरमा संयुक्त सभा गर्ने भए पनि ललितपुर, विराटनगर र वीरगंजमा भने त्यस्ता कुनै कार्यक्रम राखेको छैन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनलाई भरतपुरमा चुनाव जित्न समस्या नभएको बताएका छन् ।
चितवनको भरतपुरमा बिहीबार हुने चुनावी सभालाई सम्बोधन गर्न आएका दाहालले भरतपुरमा विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै गठबन्धनको धेरै स्थानमा जित हासिल हुने दबी गरे ।

फेसबुकबाट तपाइको प्रतिक्रिया