विराटनगर । नेपाली कांग्रेस भित्र विद्रोह गर्दै केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । एमालेका ३९ र कांग्रेसको विद्रोही समूहका ८ जनाको समर्थनमा शनिबार मुख्यमन्त्री नियुक्त भएका हुन् ।
उनले आज आइतबार पद तथा गोपनीयताको शपथ लिनेछन् । सत्तारुढ गठबन्धनले इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्रीमा अघि सारेपछि कांग्रेसको शेखर कोइराला समूहका ८ जना सांसदलाई लिएर कार्कीले विद्रोह गरे ।
नेता कार्की मुख्यमन्त्री बनेपछि गठबन्धनका शीर्ष नेताले उनलाई नै स्वीकार गरेका छन् । शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेता डाक्टर शेखर कोइरालाले गठबन्धन प्रतिबद्ध रहेको बताउँदै कार्कीलाई नै मुख्यमन्त्री स्वीकार गरेका हुन् ।
प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठनको आह्वान गरेपछि कार्कीले पार्टीभित्र मुख्यमन्त्रीको उम्मेदवार आफू हुनुपर्ने बताएका थिए । गठबन्धनले उम्मेदवार नबनाए जसरी भए पनि मुख्यमन्त्री बन्ने चेतावनी दिएका थिए ।
कार्कीले आफूले ‘ब्लाइन्ड’ खेलेर जितेको दाबी गर्छन् । मुख्यमन्त्री बन्न शेखर कोइरालाको साथ पाएपछि पार्टीभित्र विद्रोह गरेका कार्की नेविसंघको राजनीतिमा पनि विद्रोही नेताको रुपमा चिनिन्थे ।
मोरङ क्षेत्र नम्बर ६ ख बाट दोस्रो पटक निर्वाचित भएका कार्की प्रदेशसभाको पहिलो कार्यकालमा दलको प्रमुख सचेतक र आन्तरिक मामिला तथा कानुन मन्त्री बने । गत मंसिरको प्रदेशसभा निर्वाचनमा उनले आफू मुख्यमन्त्री बन्ने भन्दै चुनावी अभियान सञ्चालन गरेका थिए । उनी एमालेका उम्मेदवार पर्शुराम बस्नेतलाई पराजित गर्दै प्रदेशसभा सदस्य चुनिएका थिए ।
२०३० पुस ७ मा जन्मेका कार्कीले विद्यार्थी राजनीतिक सुरुवात नेपाल विद्यार्थी संघबाट गरे । २०४४ सालमा उनी जनता उच्च माध्यमिक विद्यालय मधेसा इनरुवाको नेपाल विद्यार्थी संघ इकाई सभापति बने । उच्च शिक्षा अध्ययनका लागि विराटनगर आएका उनी नेविसंघको क्षेत्रीय सभापति हुँदै २०५९ सालमा मोरङ जिल्ला सभापति बने ।
२०६० सालमा उनी नेपाल विद्यार्थी संघबाट महेन्द्र मोरङ क्याम्पसको स्ववियू सभापतिको उम्मेदवार बनेका थिए । तर अनेरास्ववियूका उम्मेदवार सागर थापासँग पराजित भए । तीन वर्षपछि २०६३ सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्यको बने ।
एमालेको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले एमालेलाई गुन तिर्न सरकारमा सहभागी गराउने तयारी गरेका छन् । मुख्यमन्त्री कार्की मध्यावधि निर्वाचनमा जानबाट रोक्न आफू मुख्यमन्त्री बनेका कारण पार्टीले सहयोग गर्ने बताउँछन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया