बागमती प्रदेश: दोलखाको डाङडुङे डाँडामा फिल्म सिटी निर्माण गर्ने घोषणा

मकवानपुर । बागमती प्रदेश सरकारले दोलखाको डाङडुङे डाँडामा फिल्म सिटी निर्माण गर्ने घोषणा गरेको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति कार्यक्रम तथा बजेटमार्फत डाङडुङे डाँडामा फिल्म सिटी निर्माण गर्ने घोषणा गरेको हो ।

प्रदेशभित्रको मौलिकता एवम् सांस्कृतिक विविधता झल्काउने चलचित्रहरूको निर्माणलाई प्रोत्साहन गर्ने तथा पर्यटकीय क्षेत्र दोलखाको डाङडुङे डाँडालाई फिल्म सिटीको रूपमा विकास गर्न सरकारले बजेटको व्यवस्था गरेको बजेट वक्तव्यमा उल्लेख छ ।
डाङडुङे डाँडामा अन्तर्राष्ट्रियकरण चलचित्र नगरी (फिल्म सिटी) निर्माणका लागि यस अघि नै संघ सरकारले पहल गरेको थियो । सङ्घीय सरकारको बजेट मार्फत थालिएको उक्त पहलसंगै प्राविधिक सम्भाव्यता अध्ययन प्रतिवेदन समेत तयार गरिएको थियो ।
छिनभरमा नै फेरिने मौसम, बादलले ढाकेका थुम्का, चौँरी चरण अनि हरियाली वातावरण डाङडुङे डाँडाको पहिचान हो । त्यसो त डाङडुङे डाँडामा चदै गरेका चौरीका घाटीमा बाँधिएका घण्टीका आवाजले सो क्षेत्रको वातावरणलाई थप रोचक बनाउँछ । डाङडुङे डाँडामा उभिँदा प्रकृतिले चलचित्रको पर्दा खोलेजस्तो लाग्छ ।

उक्त स्थानमा बन्ने चलचित्र नगरीले फिल्म उद्योगको भविष्य मात्र होइन, दोलखाको आर्थिक र सामाजिक स्वरुप नै परिवर्तन गर्ने सामथ्र्य बोकेको छ । सपनाको रूपमा रहेको सो क्षेत्र सम्भावनाको अवसरका रूपमा अघि बढाउने बागमती सरकारको लक्ष्य रहेको छ ।
काठमाडौंबाट ११८ किलोमिटर पूर्व, दोलखा सदरमुकाम चरिकोटबाट केही घण्टाको यात्रामा अवस्थित डाङडुङे डाँडा सेतीदेवी सामुदायिक वन क्षेत्रमा पर्दछ । त्यहाबाट देखिने दृश्यहरूले चलचित्र सुटिङ मात्र होइन, पर्यटकको मन जित्न पनि सक्षम छ । सो क्षेत्रमा ५० प्रजातिका जैविक प्राणी, १४ प्रजातिका गुराँस, स्वयम्भू, फूलचोकी, गौरीशंकर, गणेश, जुगल, लाङटाङ, धौलागिरी हिमश्रृंखला, सिन्धुपाल्चोकदेखि ओखलढुंगासम्मका भू–भागहरू दृश्यावलोकन गर्न सकिन्छ । जसले फिल्म सुटिङलाई नै एक महाकाव्यिक अनुभव बनाउनेछ ।
उक्त स्थानमा बन्ने चलचित्र नगरीले फिल्म उद्योगको भविष्य मात्र होइन, दोलखाको आर्थिक र सामाजिक स्वरुप नै परिवर्तन गर्ने सामथ्र्य बोकेको छ । सपनाको रूपमा रहेको सो क्षेत्र सम्भावनाको अवसरका रूपमा अघि बढाउने बागमती सरकारको लक्ष्य रहेको छ ।
बागमती सरकारद्वारा बजेट विनियोजन गरेर आगामी आर्थिक वर्षमा संरचनाहरूको वकासमा अघि बढ्ने तयारी गरेको प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुनदराज काफ्लेले जानकारी दिए ।

तत्कालीन समयमा तयार गरिएको सम्भाव्यता अध्ययन प्रतिवेदन अनुसार, ७६.२५ हेक्टर क्षेत्रमा बन्ने चलचित्र नगरीको लागि ३२ करोड रुपैयाँ लगानीमा भौतिक पूर्वाधार निर्माण र ७४ करोड ३७ लाख प्राविधिक र सुधारात्मक संरचनामा खर्च अनुमान रहेको थियो । हाल सो दर र प्रतिवेदनमा केही परिवर्तन गरेर संरचना निर्माणमा अघि बढ्ने सरकारको तयारी रहेको उनले बताए ।

२०६८ बाट सो स्थानमा फिल्म सिटी निर्माणको प्रारम्भिक प्रक्रिया थालिएको थियो । तत्कालीन नेपाल सरकारले थालेको उक्त प्रक्रियामा २०७०/०७१ मा २ करोड रुपैयाँ बजेटसहित गुरुयोजना प्रारम्भ गरिएको थियो । २०८१ मा सम्भाव्यता प्रतिवेदन सार्वजनिक गरी २०८२ भित्र निर्माण सुरु गर्ने तयारी थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया